Logo

७ वर्षपछि घट्यो वैदेशिक रोजगारीमा जानेक्रम

७ वर्षपछि घट्यो वैदेशिक रोजगारीमा जानेक्रम


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

४ साउन, काठमाडौं । उच्च रुपमा बढेको बैदेशिक रोजगारीमा जाने क्रम आर्थिक वर्ष २०७१/७२ मा आएर घटेको छ । पछिल्लो ७ वर्षमा पहिलोपटक वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा गिरावट आएको हो ।

आव २०७१/७२ मा नेपालबाट कुला ४ लाख ८९ हजार कामदार वैदेशिक रोजगारीमा गएको विभागले जानकारी दिएको छ । यो संख्या आव २०७०/७१ को तुलनामा साढे ३८ हजारले कमी हो । जवकि आव २०७०÷७१ मा नेपालबाट ५ लाख २८ हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालबाट २०४२ सालदेखि नै आधिकारीक रुपमा वैदेशिक रोजगारीमा जान खुला गरिएपनि आर्थिक वर्ष २०५७/५८ देखि मात्र बढ्न थालेको थियो । माओवादी द्वन्द्वका कारण त्यसवेला वैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै बढेको थियो । त्यसयता आर्थिक २०६५/०६६ आएर सामान्य घटेको थियो ।

 

वैदेशिक रोजगार विभागका अनुसार आव २०६४/६५ मा २ लाख ४९ हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए । तर, आव २०६५/६६ मा आएर केही घटेर २ लाख २० हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

fe-data

त्यसयता देशमा संक्रमणकाल लम्विएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम पुनः बढेको थियो । देशमा बढ्दो वेरोजगारीका कारण त्यसयता वार्षिक साढे ३ लाख देखि सवाँ ५ लाख युवायुवती वैदेशिक रोजगारीमा गइरहेका थिए । तर, गत आवमा आएर सो क्रम घटेको छ ।

श्रम बजारमा वार्षिक झण्डै ५ लाख युवायुवती आउने छन् । तर, विभिन्न कारणले गर्दा झन् रोजगारीका अवसरहरु घट्दै जानुले पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको श्रम विज्ञहरु बताउँछन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०४२ सालयता नेपालबाट ३९ लाख ६५ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा पुगिसकेका छन् । तर, त्यसमध्ये कति कामदार नेपाल फर्किए भन्ने तथ्याङ्क कुनै आधिकारीक निकायसँग छैन ।

गत आवमा सरकार, वैदेशिक रोजागार व्यवसायी र स्वास्थ्य व्यसायीबीचको आन्तरिक किचलोले गर्दा पनि वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो । मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ‘बायोमेट्रिक’ प्रणाली, भिसा लगाउनको ‘भिएलएन’ नामक छुट्टै संस्थाको नाममा कम्पनी स्थापना, रोजगारीमा जानका लागि शुन्य लागतजस्ता विवादित विषयले गर्दा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम घटेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव राजेन्द्र भण्डारी बताउँछन् । ‘पछिल्लो समय मलेशिया लगायत खाडी मुलुकका रोजगारदाताले एकदमै छिटो कामदार मगाइरहेका छन्,’ उनले भने, ‘तर, सरकारको विभिन्न खालका झण्झटिलो नीति नियम तथा अप्ठ्याराले गर्दा कामदार पठाउन सकिएको छैन ।’

गत आवमा विभिन्न देशबाट १२ लाख नेपाली कामदारको माग भएको छ । तर, देशभित्रकै वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारावाला निकायहरुबीचको आपसी किचालोका कारण मागको एक तिहाई कामदार मात्र रोजगारीमा पुगेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL