Logo

पेट्रोलियम पाइपलाईन सम्झौताका लागि भारतीय मन्त्री नेपाल आउँदै

पेट्रोलियम पाइपलाईन सम्झौताका लागि भारतीय मन्त्री नेपाल आउँदै


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

३ साउन, काठमाडौं । रक्सोलदेखि अमलेखगञ्जसम्म पाइप लाइन निर्माण चाँडै नै अगाडि बढ्ने भएको छ । नेपाल र भारत सरकारबीचको सम्झौता पश्चात पाइपलाइन निर्माण कार्य अघि बढ्ने  नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।

भारतीय पेट्रोलियम मन्त्रि आएपछी सरकारले अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाईपलाईन निर्माण गर्न भारतसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने उनले जानकारी दिए । ‘पाइपलाईन सम्झौताका लागि भारतीय मन्त्री आउने निश्चित भइसकेको  छ तर त्यसको मिति भने तय भएको छैन,’ उनले भने, ‘सम्झौता लगतै कार्यन्वयनलाई अगाडी बढाउने तयारी गरेका छौं,’ उनले भने ।

केही समय अघि मन्त्रीपरिषद अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिले पाईपलाईन निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न वाणिज्य मन्त्रालयलाई स्वीकृति दिएको छ ।

समझदारी पत्रमा निर्माण, लागत, सुरक्षा, प्रयोग र हस्तान्तरणलगायतका विषय समेटिएको  वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताए ।  ‘पाईपलाईनको २ खर्ब ७५ अर्ब रुपैयाँ लागत मध्ये भारतले २ खर्ब (७३ प्रतिशत) र नेपालले ७५ (२७ प्रतिशत) अर्ब रुपैयाँ बेहोर्ने छन्,’ उनले भने । निर्माणको लागत बढेमा सोही अनुपातमा दुवै पक्षले थप लागनी गर्ने समझदारीपत्रमा व्यवस्था गरिएको छ ।

सम्झौता भएको ३० महिनाभित्रै निर्माण सम्पन्न गरिने बताइएको छ । पाईपलाईनको निमार्ण इण्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने  निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

४१ किलोमिटरको लम्बाईको पाइपलाइनको ३९ किलोमिटर नेपालतर्फ र २ किलोमिटर भारततर्फ पर्दछ । पाईपलाईनको मोटाई १० दशमलव २ सेनटीमिटर हुने छ । पाईपलाईन निर्माण सम्पन्न भएको १५ वर्षसम्म संयुक्तरुपमा सञ्चालन गरिने छ । १५ वर्षपछि पाईपलाईन स्वतः नेपालको हुने व्यवस्था समझादारीपत्रमा रहेको घिमिरेले जानकारी दिए । उनका अनुसार प्रत्येक ५/५ वर्षमा समझदारी नविकरण गरिने छ ।

पाईपलाईन निर्माणपछि पनि सरकारले चाहेमा अन्यमुलुकबाट पेट्रोलियम पदार्थ खरीद गर्न सक्ने उनले बताए । उनका अनुसार दुई मुलुकबीचको संयुक्त लगानीमा बन्ने पेट्रोलियम पाईपलाईन तेस्रो पक्षले समेत उपयोग गर्न सक्ने छन् ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले रक्सौलबाट पम्पिङ गरेर पाईपमार्फत पेट्रोलियम पदार्थ पठाउने छ । त्यसलाई निगमले रिसिभ गरी अमलेखगञ्जस्थित डिपोमा भण्डारण गर्ने छ । उक्त पाईपलाईनबाट एक पटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ पठाउन मिल्छ । एक पटकमा एक थरी पेट्रोलियम पदार्थमात्रै पठाउन मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL