Logo

३ चिनी उद्योगले अझै टेरेनन सरकारलाई, किसानलाई करोडौं बक्यौता बुझाउन चासो नै राखेनन्

३ चिनी उद्योगले अझै टेरेनन सरकारलाई, किसानलाई करोडौं बक्यौता बुझाउन चासो नै राखेनन्



काठमाडौं । किसानलाई धेरै रकम भुक्तानी गर्न बाँकी रहेका ३ ठूला चिनी उद्योगले सरकारी निर्देशनको अवज्ञा गरेका छन् । सरकारले पटकपटक उखु किसानको पैसा भुक्तान गर्न ताकेता गरिरहेपनि महालक्ष्मी, ईन्दिरा र अन्नपुर्ण सुगर मिलले किसानको पैसा भुक्तानी नगरेका हुन् ।

उखु किसानले उखुको बक्यौता रकम विगत ६ बर्षदेखि नपाएको भन्दै काठमाडौं आएर गत पुसमा केही दिन धर्ना बसेका थिए । धर्ना बसेका उखु किसानको माग सुनुवाई गर्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री तथा सचिवहरुले किसानसँग पैसा भुक्तानीसम्बन्धी ५ बँुदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

उक्त सहमतिमा माघ ७ गतेभित्र सम्पुर्ण किसानको बक्यौता रकम भुक्तानी गरिसक्नुपर्ने उल्लेख थियो । तर सोही अवधिभित्र केही साना तथा मझौला चिनी उद्योगले सरकारको सहमतिवमोजिम किसानको पैसा भुक्तानी गरेका थिए भने कतिपय उद्योगले किसानसँग सहमति गरिएको मन्त्रालयमा जानकारी दिएका थिए ।

उक्त अवधिमा हिमालय सुगर मिल, ईन्दुशंकर चिनी उद्योग, ईष्र्टन सुगर मिल, रिलायन्स सुगर मिल र भागेश्वर सुगर मिलले किसानको सबै भुक्तानी दिएका थिए । यस्तै श्रीराम सुगर मिलले किसानसँग २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ बक्यौता जग्गा बेचेर भुक्तानी गर्ने गरी सम्झौता गरेको मन्त्रालयमा जानकारी दिएको थियो । तर उक्त अवधिमा बाबा बैजुनाथ र बाग्मती खाँडसारी चिनी मिल्स भने सम्पर्कमै आएका थिएनन ।

हालसम्म माथि उल्लेखित सबै उद्योगले किसानको पैसा भुक्तानी गरिसकेको भनी मन्त्रालयमा जानकारी गराएका छन । केहीले किसानसँग पैसा भुक्तानी गर्नेसम्बन्धी सम्झौता गरेका छन् भने केहीले सम्पुर्ण बक्यौता बुझाईसकेका छन ।

तर, किसानको धेरै रकम तिर्न बाँकी ईन्दिरा, महालक्ष्मी र अन्नपुर्ण सुगर मिलले भने किसानको बक्यौता अझै नतिरको मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त ३ उद्योगबाट ६३ करोड ४० लाख ५८ हजार रुपैयाँ किसानले पाउन बाँकी छ । जसमध्ये महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने अन्नपुर्ण सुगर मिलले ३ करोड ९० लाख र ईन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन ।

यी ३ उद्योगले सरकारले गरेको पुस १८ को निर्णयलाई समेत लत्याएका छन् । उनिहरुलाई पनि उद्योग मन्त्रालयले माघ ७ गतेभित्र किसानको सम्पुर्ण रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । तर अवधि वितेको १ महिना पुग्दासम्म पनि ३ उद्योगले किसानको बक्यौता भुक्तानी गरेका छैनन ।

यता उद्योग विभागले किसानको बक्यौता नबुझाउने उद्योगीबाट भुक्तानी गराउन उर्जा मन्त्रालयसँग समेत समन्वय गरेको थियो । ती उद्योगहरुले चिनी उद्योगाबाट उत्पादित प्राधिकरणमा विद्युतलगायत आपुर्ति गरेका कारण प्राधिकरणबाट भुक्तानी दिनु अघि मन्त्रालयमा जानकारी गराउन समेत मन्त्रालयले निर्देशन दिएको थियो ।

यस विषयमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणबीच बैठक बस्ने भनिएको छ । सोहीअनुसार बैठक बसेर निष्कर्ष निकाल्ने मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए । उनका अनुसार अव छिट्टै बैठक बसेर यस विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL