Logo

महासंघमा गुटको राजनीति अन्त्य भएको छ

महासंघमा गुटको राजनीति अन्त्य भएको छ


रामराजा श्रेष्ठ
54
Shares

महासंघ आफ्नो भुमिकाबाट विचलित भएको छ । मेरो कार्याकालमा महासंघलाई लक्ष्य र उद्देश्य अनुसार संचालन गर्नेछु ।

उद्योगी व्यवसायीलाई अनावश्यक लाञ्छना लाग्दै आएको छ । त्यसलाई सवै मिलेर चिर्नु जरुरी छ । उद्योगका समस्या, बजेटमा निजी क्षेत्रको अपेक्षा तथा महासंघ भित्रका आन्तरिक विवादका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष पशुपति मुरारकासँग बिजखबरका रामराजा श्रेष्ठ र रक्षा रेग्मीले गरेको कुराकानीको सार ः

लामो बहस पश्चात सर्वसहमतिमा अध्यक्ष हुन भयो । कसरी सम्भव भयो ?

हरेक चुनावमा अलिअलि मनमुटाव त भैहाल्छ । विगतका तुलनामा यो चुनाव अलि फरक थियो । अहिलेको कार्यकाल बाँकी २१ महिनाको लागि मात्र हो । यसमा पनि पूर्ण रुपमा निर्वाचन गर्ने कुरा नउठेको होइन । तर ,नागरिक समाज, राजनीतिक पार्टी तथा जिल्ला÷नगरसंघका पदाधिकारीहरुले त्यसो नगर्न दबाब दिए । पूर्व अध्यक्षहरुले पनि पत्रकार सम्मेलन नै गरेर सर्वसम्मतिबाट अध्यक्ष निर्वाचन गर्न दबाब दिएका थिए । त्यसपछि हामीलाई पनि त्यस्तै गर्नु उचित लाग्यो र गहन छलफल पश्चात सर्वसमतिको निर्णयमा पुग्यौं ।

अन्य दुई प्रतिस्पर्धी उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए, यस्तो अवस्थामा कसरी सहमती गर्नुभयो ? यसमा केही लेनदेन पनि भयो कि ?

यसपालीको सबैभन्दा राम्रो पक्ष भनेको कुनै पनि उम्मेदवार चुनावी क्याम्पेनमा नआउनु हो । हामी तीनै जना चुनाव प्रचारप्रसारको क्याम्पेनमा लागेका थिएनौं । यसपटकको निर्वाचन पनि खासै त्यस्तो चर्चामा आएन । पछि अरुले उम्मेदारी फिर्ता लिने र छलफलबाट मलाई अध्यक्ष बनाउने निर्णय भएको हो । म वरिष्ठ उपाध्यक्ष हुनुका साथै बिगत केही समयदेखि कार्यबाहक अध्यक्षको भुमिका निर्वाह गरेकोले मलाई सर्वसमतिमा चयन गरिएको हो । यसमा कुनै लेनदेन भएको छैन । महासंघको चुनावमा के लेनदेन गर्न सकिन्छ र ?

पूर्व अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर दबाद दिएको भन्नुभयो, यसलाई पूर्वअध्यक्षहरुले राजनीति गरे भन्ने आरोप पनि लगाएका छन् नि ?

म राजनीति बुझ्दिन । अरुले कस्तो रुपमा बुझे तर म यसलाई इमान्दारीका साथ सुझावको रुपमा लिन्छु । पूर्वअध्यक्षहरुले दवाव होइन सुझाव दिएका हुन् । यसलाई महासंघको हितको लागि दिएको दबाब भन्न चाहन्छु ।

गुटको कुरा कोट्याउन चाहे, भवानी राणा वरिष्ठ उपाध्यक्ष भएसँगै पदाधिकारीमा प्रदिपजंग पाण्डेको प्यानलको बहुमत देखिन्छ यसले तपाईलाई काम गर्न अप्ठ्यारो त पार्दैन ?

मलाई त्यसले फरक पार्दैन । बहुमतकै कुरा हुने भए मैले वरिष्ठ उपाध्यक्षमा जित्दैन्थे होला । किनकी प्रदिपजंगजीको बहुमतका बाबजुद मैले वरिष्ठ उपाध्यक्षको पद जितेको थिए । महासंघको कार्यशैली गुट, उपगुट वा बहुमतले खासै सरोकार राख्दैन ।

आगामी दिनमा फेरि त्यो विवाद आउने सम्भावना छ कि ?

विवाद आउने सम्भावना छैन । सुरज बैद्यको तर्फबाट भाष्कर जी र म थियौं । तर, अहिले प्रदीपजंग पाण्डेको प्यालनबाट भवानी राणाले पनि मलाई सपोर्ट गर्नु भयो । यसबाट पनि गुटको अन्त्य भएको प्रमाणित हुन्छ । गुट चुनावी प्रतिस्पर्धा तथा फाइदाका लागि मात्र हो । त्यस्तै राजनीतिक दलको जस्तो हाम्रो फरक÷फरक दर्शन छैन । त्यसले गर्दा यो दीर्घकालीन हँुदैन । हामीले उद्योग व्यवसायको हितको लागि मात्र लविङ गर्ने हो ।

भनेपछि महासंघमा गुट सकिएकै हो ?

अहिलेको सर्वसम्मति नै त्यसको प्रमाण हैन र ? फरक प्यानलका भवानी जीले आफ्नो उम्मेदारी फिर्ता लिनुभयो । तर, पछि फेरी गुट हँुदैन भन्ने कुराको ठोकुवा भने गर्न सकिदैन । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा नेतृत्वको हातमा भर पर्छ । अहिले त्यो जिम्मेवारी मेरो हातमा आएको हो । मेरो कार्याकालमा महासंघभित्र गुटको राजनीति अन्त्य गर्ने छु ।

महासंघ आफ्नो भूमिकाबाट विचलित भएको देखिन्छ। के भन्नुहुन्छ ?

मलाई पनि त्यस्तै लाग्छ । हो, हामीले अलिकति बाटो बिराएकै हौं । मुलुकको राजनीतिक अस्थिरताले गर्दा पनि महासंघ आफ्नो दायराबाट बाहिर गएको हो । त्यसमा विभिन्न कारणहरु पनि छन् । स्थानीय निकायको निर्वाचन भएको छैन । महासंघले दायरा बाहिरका अन्य विषय बस्तुलाई छुन थालेको छ । त्यसलाई राम्रो र नराम्रो दुवै रुपमा लिन सकिन्छ । हामीले उद्योगी व्यवसायी तथा निजी क्षेत्रको विकासका लागि काम गर्ने हो । तर, मुख्य एजेण्डाबाट बाहिर जाँदा केही समस्या भएको हो । त्यसैले महासंघ आगामी दिनमा आफ्नो एजेण्डा अनुसार अघि बढ्नेछ ।

अवको २१ महिनाका लागि अध्यक्ष हुनुभएको छ । आफ्नो कार्यकालमा मुख्य काम के गर्नुहुन्छ ?

मेरो मुख्य उद्देश्य भनेको निजी क्षेत्रको विकास नै हो । यस्तै, नीति नियममा सुधार, संविधान तथा बजेटमा निजी क्षेत्रको लागि के–के छन् बुझ्ने, तथा निजी क्षेत्रको अधिकार सुनिश्चत गराउनु मेरो मुख्य कार्य हो । त्यस्तै, भूकम्पबाट क्षतिग्रस्त उद्योग पूनःस्थापनाको लागि काम गर्नेछौ भने विदेशी लगानी भित्र्याउन प्रयास गर्ने छु ।

महासंघमा विधान संशोधनको कुरा उठेपनि पुरा हुन सकेको छैन, तपाँइले विधान संसोधनलाई कत्तिको प्राथमिकता दिनु भएको छ ?

कुनै पनि संस्थामा समयअनुसार विधान संसोधन गर्नु आवश्यक हुन्छ । देश संघियतामा जाँदै छ । सोही अनुरुप महासंघको विधान पनि संघियताको आधारमा संसोधन हुनेछ । त्यसलाई अझ परिमार्जित गर्नु आवश्यक छ ।

विधान संशोधनलाई केले बाधा पुर्याएको छ ? के–के कुरा विमत्ति छन् ?

हामीले विधान संसोधनका लागि कमिटि बनाइसकेका छौं । सबै संघसंस्थाको आ–आफ्ना अधिकारको कुरा हुन्छ । हाम्रो विधानमा निर्वाचन प्रणाीलाई पारदर्शी बनाउनेलगायत कुराहरु छन् । आगामी आव भित्रमा महासंघको विधान संसोधन हुनेछ ।

निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिएन भन्दै आउनु भएको छ । अहिलेको अवस्थामा निजी क्षेत्रको समस्याहरु के–के हुन् ?

निजी क्षेत्रको मुख्य समस्या भनेको लगानीको वातावरण नहुनु हो । त्यस्तै नीति नियमका सुधार गर्नुपर्ने छ । सरकारको कार्यन्वयन पक्ष निकै फितलो छ । एउटा उद्योग दर्ता गर्न विभिन्न प्रक्रिया पुरा गर्दा ५ बर्षसम्म लाग्छ । यसलाई फास्ट ट्रयाकबाट गर्न सुझाव दिइरहेका छौं । त्यस्तै, हामीले पनि सरकारसमक्ष आफ्नो कुरा राख्न सकेका छैनौ । विभिन्न पत्रपत्रिका तथा मिडियामार्फत मात्र माग राखेर हँुदैन । सरकार समक्ष प्रत्यक्ष रुपमा माग राख्नु जरुरी छ । यसलाई महासंघले गम्भिरता पूर्वक अघि बढाइरहेको छ ।

पछिल्लो सयम कर छलीका घटना धेरै आइरहेका छन् यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

आरोप लाग्नु र छलि गर्नुमा फरक छ । कतिपय अवस्थामा सत्यतथ्य पत्ता नलगाई आरोप मात्रै लगाएको पनि भेटिएको छ । कतिपय उद्योगीहरु पनि त्यस्ता काममा संलग्न भएका होलान । त्यसका लागि सजायको उपयुक्त व्यवस्था छ । ऐन अनुसार कारवाही तथा जरिवाना गर्नु पर्छ । त्यसलाई सामान्यिकरण गर्न मिल्दैन । जवसम्म अदालतले प्रमाणित गर्दैन कुनै पनि उद्योगी व्यवसायीलाई कर छलीको आरोप लागाउनु उपयुक्त हुँदैन । भन्सार नतिर्नुलाई कर छली भन्न सकिन्छ । राज्यले तोकेको कर व्यापारीले बुझाउनु पर्छ त्यसमा दुईमत छैन । तर, कपितय अवस्थामा आयकर नतिर्नुलाई कर छलेको भन्न मिल्दैन । यसमा राज्यले गलत हिसावले व्याख्या गरेको पाइएको छ ।
केहीले छल्ने प्रयास पनि गरेको होलान । त्यसलाई सरकारले ऐन अनुसार कारवाही गर्न सक्नुपर्छ ।

प्रसंग बदलौ, भूकम्पको बेलामा निजी क्षेत्रले उद्दार तथा राहतमा उल्लेखनीय भुमिका निर्वाह गर्न सकेन नि ?

महासंघ निस्क्रिय भएको कुरा म मान्न तयार छैन । निजी क्षेत्रले के गरेन ? नीजि क्षेत्र आफै पिडामा थियो । घर गोदाम भत्किएको थियो । यसको बाबजुद पनि भुकम्प गएको भोलिपल्टै देखि करोडौंकौ राहत सामग्री पुर्याएको छ । सवै व्यवसायीले आफ्नो तर्फबट केही न केही गरेका छन् । महासंघले प्रधानमन्त्री राहतकोषमा सहयोग गरेको छैन । तर, हाम्रा सदस्यहरुले दिएका छन् । हामीले आफ्नै गाडीमा राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा पुर्याएका छौं । निजी क्षत्रेको भूमिका सराहनीय छ ।

प्रधानमन्त्री राहतकोषमा त जम्मा गर्नु भएन नि । विश्वास नभएर हो ?

राज्यले प्रधानमन्त्री राहत कोषमा दिएको सहयोग रहक आफ्नो खर्चमा लेख्न पाउने व्यवस्था समेत गरेको छैन । राज्यसँग पैसा छ तर खर्च गर्न सकेको छैन । खर्च गर्ने क्षमता कम छ । व्यसायीले जुन सहयोग गरे त्यसलाई सकारात्मक रुपमा लिनु आवश्य छ ।

महासंघले भुकम्पबाट विस्तापित घरेलु, साना तथा मझौता उद्योग व्यवसायको पुुनस्थापनाका लागि अहिलेसम्म कुनै प्रयास गरेको देखिदैन नि ?

हामीसँग कार्यकारी अधिकार छैन । हामीले त्यस्ता उद्योगको बारेमा सरकार समक्ष कुरा राखेका छौं । काम तथा उद्योगमा फर्काउन कुरा राखेका छौं । हाम्रो माग पनि त्यही हो । त्यसप्रति राज्यको ध्यान पुगेको छैन । पुँजी उपलब्ध गराउने तथा त्यस्ता उद्योगलाइ सञ्चलनमा ल्याउन सरकारले गर्नु सहयोग गर्नुपछ । महासंघमा त्यसमा लविङ गर्ने संस्था हो ।

आगामी दिनमा उद्योग पूर्नस्थापनामा महासंघको भूमिका कस्तो रहन्छ ?

हामीले व्यवसायीको मर्का राज्य समक्ष पुर्याउने हो । अहिले राज्यले व्यवसायीलाई दोश्रो दर्जामा राखेको छ । ठूला उद्योगीलाई सरकारले केही गुर्न पर्दैन छ । तर, राज्यले साना व्यवसायीको समस्या सम्बोधन गर्नु पर्छ । साना व्यवसायीको ऋण मिनाहा गरिदिनुपर्छ । पुन व्यवसाय संचालनका लागि नयाँ ऋण दिनुपर्छ ।

पूर्ननिर्माण तथा नवनिर्माणमा निजी क्षेत्रको भुमिका के रहन्छ ?

राज्य पूनर्निर्माणमा निजी क्षेत्र सक्षम छ । काम गर्न सक्छ । राज्यको खर्च गर्नसक्ने क्षमता छैन । दाता सम्मेलनका कमिटमेन्टका आधरमा सहयोग प्राप्त भए हामीले पूनर्निर्माणमा गर्न सक्छौ । त्यसलाई अवसरको रुपमा लिनुपर्छ । उद्योगमा लगानी बढाएर बढीभन्दा बढी पूर्वार्धार निर्माणका सामग्री उत्पादन गर्नुपर्छ । उद्योगीहरु थप क्षमता बढाउन पनि तयार छन् । साथै, नेपाली उद्योगीले कुनै पनि निर्माण सामग्री बाहिरबाट ल्याउने मुल्यभन्दा ५ देखि १० प्रतिशत कममा दिन सक्छन् ।

सरकारले भोली बजेट प्रस्तुत गर्दै छ । महासंघले कस्ता माग राखेका छन् ?

अहिले उद्योगी व्यवसायीहरु पीडामा छन् । कतिपय उद्योगहरु बन्द छन् । सरकालाई नयाँ कर नलगाउन आग्रह गरेका छौं । सरकारले नयाँ कर नलगाएमा हामी पुनर्निर्माणमा लाग्छौं । भ्याटका थ्रेसहोल्ड बढाउन आग्रह गरेका छौं । साथै, हामीले साना व्यसायीका लागि थुप्रै माग राखेका छौं ।

महासंघको निर्वाचनमा राजनितीक पार्टीको ह्वीप चन्ल थालेको छ नि ?

तपाँइको कुरा ठिक छ । तर, म सधै यसको विरोध गर्दै आएको छु । हामी कुनैपनि राजनीतिक दलको भातृ संगठन होइनौं । मलाइ यो ठाउँमा पुर्याउन कुनै दलले सहयोग गरेको छैन ।
उद्योग वाणिज्य महासंघ गैर राजनीतिक संस्था हो । राजनीतिक राज्यसाग आफ्नो माग राख्ने काम हो । उनीहरुको कृपा बाट पदमा गएर पछि सरकारसँग आफ्ना माग राख्ने नैतिक अधिकार हुदैन ।

अन्त्यमा , महासंघको अध्यक्षको हैसियायतले सरकार, निजी क्षेत्र र आम जनतालाई के भन्न चाहनुहुन्छ ?

निजी क्षेत्रलाई हेर्ने दृष्ट कोणमा परिवर्तन हुनुपर्छ । सकारात्मक दृष्टिकोणले हेरौं । निजी क्षेत्रलाइ विश्वास गरौं । बारम्बार आक्षेप लाग्ने गरेको छ । त्यसलाई सवै मिलेर चिर्न जरुरी छ । साथै, म व्यवसायीको हकहितका लागि काम गर्ने छु ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL