Logo

१५ वर्षमा विश्व बजारमा यस्तो रह्यो सुनको औसत मूल्य वृद्धि, सबैभन्दा महङ्गो भारत र बेलायतमा

१५ वर्षमा विश्व बजारमा यस्तो रह्यो सुनको औसत मूल्य वृद्धि, सबैभन्दा महङ्गो भारत र बेलायतमा



काठमाडौं । डेढ दशकयता विश्व बजारमा सुनको मूल्यमा व्यापक उत्तारचढाव आएको देखिन्छ । सन् २००५ देखि २०२० सम्मको तथ्यांकअनुसार विश्व बजारमा डेढ दशकको अवधिमा सुनको मूल्य करीब १० प्रतिशतले बढेको देखिन्छ । विश्वभरको सुन मूल्यको विश्लेषण गर्दा यो अवधिमा सुनको मूल्य भारत र बेलायतमा सबैभन्दा धेरैले वृद्धि भएको देखिन्छ ।

यी दुई देशमा १५ बर्षको सुनको मूल्यमा औसत वृद्धिदर १२ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै यो अवधिमा स्वीजरल्याण्ड र चीनमा सबैभन्दा कम औसत मूल्य वृद्धिदर भएको देखिन्छ । जसमा स्वीजरल्याण्डमा औसतमा ८ दशमलव ३ र चीनमा ८ दशमलव १ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

यो अवधिमा अमेरिकामा ९ दशमलव ४ प्रतिशत, क्यानडामा ९ दशमलव ५ प्रतिशत, अष्ट्रेलियामा ९ दशमलव ८ प्रतिशत, जापानमा ९ दशमलव ७ प्रतिशत र युरोपमा १० दशमलव ९ प्रतिशतले समग्रमा औसत मूल्य वृद्धि देखिएको छ । सन् २००५ देखि २०२० सम्मको तथ्यांकलाई विश्लेषण गर्दा सो अवधिमा सबैभन्दा बढि मूल्य वृद्धि अमेरिकामा २००७ मा ३० दशमलव ९ प्रतिशतले भएको देखिन्छ भने यूरोपमा भने सन् २०१० मा ३८ दशमलव ८ प्रतिशतले भएको देखिन्छ ।

यस्ते मूल्यवृद्धि चीनमा सन् २०१० मा २४ दशमलव ९ प्रतिशत र भारतमा सन् २०११ मा ३१ दशमलव १ प्रतिशत भएको देखिन्छ । यस्तो मूल्यवृद्धि १५ वर्षे अवधिमा सबैभन्दा धेरै अष्ट्रेलियामा सन् २००८ मा ३१ दशमलव ३ प्रतिशतले, क्यानाडामा सन् २००८ मा ३० दशमलव १ प्रशितले, स्वीजरल्याण्डमा सन् २००७ मा २१ दशमलव ७ प्रतिशतले, बेलायतमा सन् २००८ मा ४३ दशमलव २ प्रतिशत, जापानमा सन् २००९ मा २६ दशमलव ८ प्रतिशले बढेको छ ।

यस्तै १५ वर्षमा कुनै कुनै वर्षमा मात्र सुन घटेको देखिन्छ । जसमा अमेरिकामा सन् २०१३ मा २८ दशमलव ३ प्रतिशतले, सन् २०१३ मा अष्ट्रेलियामा १६ दशमलव २ प्रतिशतले, क्यानाडामा २३ प्रतिशतले स्वीजरल्याण्डमा ३० दशमलव १ प्रतिशतले, यूरोपमा ३१ दशमलव २ प्रतिशतले बेलायतमा २९ दशमलव ४ प्रतिशतले। भारतमा १८ दशमलव ७ प्रतिशतले र जापानमा १२ दशमलव ८ प्रतिशतले औसतमा एकैपटक मूल्यमा ठूलो गिरावट आएको थियो ।

सन् २०१३ मा सबै देश र क्षेत्रमा एकैपटक मूल्यमा गिरावट आएको थियो । यो अवधिमा अमेरिका, स्वीजरल्याण्ड र जापानमा धेरैपटक मूल्यवृद्धि भएको थियो । सुनको मूल्यवृद्धिको आँकलन मुद्रासँग गरिने भएकाले यसले प्रत्यक्ष रुपमा सम्बन्धित देशको मुद्रा कति बलियो र कमजोर रहेको छ भन्ने पनि देखाउँछन । १५ वर्षको सुनको मूल्य अवधिलाई मूल्यांकन गर्दा अमेरिकी डलर र स्वीस फ्रयांकको मुद्रा निकै बलियो स्थितिमा रहेको देखिन्छ भने भारत र बेलायतका मुद्रा कमजोर देखिन्छन् । नेपााली मुद्राको भारती मुद्रासँगको ‘पेग’को कारण भारतीय बजारले नेपललाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।

त्यसैले सुन र मुद्राको मूल्य वृद्धि वा अवमूल्यन नेपालमा पनि भारतको जस्तै हुने गर्छ । १५ वर्षको अवधिमा सन् २०१८ मा सबै क्षेत्रमा एकैपटक कम प्रतिशतले औसत सुन मूल्यवृद्धि भएको थियो भने सन् २००७ मा धेरै प्रतिशतले औसत मूल्यवृद्धि भएको थियो । यो वर्ष विशव बजारमा अहिलेसम्मकै धेरै मूल्य वृद्धिको रेकर्ड बनाइरहेको सुनको मूल्य थप बढने आंकलन गर्न सकिन्छ । यसले नेपाली बजार पनि प्रभावित भइरहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL