Logo

निर्माण सामग्रीको मूल्य अझै घट्ने, २४ सै घण्टा विजुली दिन माग

निर्माण सामग्रीको मूल्य अझै घट्ने, २४ सै घण्टा विजुली दिन माग


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

२५ जेठ, काठमाडौं । सरकारले २४ सै घण्टा विजुली उपलब्ध गराएमा निर्माण सामग्रीको मूल्य घटाइने सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।

बजारमा सिमेन्ट, छड तथा इँटाको आवश्यकतालाई परिपूर्ती गर्न २४ सै घण्टा विजुली उपलब्ध भएमा हालको मूल्यलाई अझै कम गरिने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । साथै अहिले पनि बैशाख ११ अघिकै मूल्यमा निर्माण सामग्री विक्री भइरहेको उनले जानकारी दिए ।

थापाका अनुसार नेपालमा उत्पादीत सिमेन्टले नै स्थानीय माग धान्न सक्नेछ । ‘भुकम्पले ५ लाख घरमा क्षती पुर्याएको छ,’ उनले भने, ‘सबै घर पुनर्निर्माणमा सिमेन्ट पुर्याउन सहयोग गर्न हामी तयार छौं ।’
साथै पुनर्निर्माण अवधिभर अन्तरराष्ट्रिय कारण बाहेक अन्य कारणले यस्ता सामग्रीको मूल्य नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो समय सिमेन्ट बलियो नहुने भन्ने प्रचारले सिमेन्ट तथा छडको व्यवसाय धरासायी बन्दै गएको उनले बताए । ‘प्रिफ्यावको घरमात्र बलियो हुन्छ भन्ने भ्रम हो,’ उनले भने, ‘सिमेन्टबाट भुकम्प प्रतिरोधात्मक घर बनाउन सकिन्छ ।’ भवन आचार संहिता पालना गरेमा माटो तथा ढुंगाको घर पनि बलियो हुने थापाले जानकारी दिए ।

त्यस्तै रोलिङ मिल्स एसोसिएसन्सका अध्यक्ष ध्रुबकुमार श्रेष्ठले कच्चा पदार्थमा भन्सार छुट दिए मूल्य कम गर्न सहज हुने बताए । कच्चा पदार्थ आयात गर्नुपर्ने भएकोले यसमा छुट दिनुपर्ने उनको भनाइ थियो । ‘यदि सरकारले भन्सार छुट दिएमा भुकम्प अघिको मूल्यमा पनि केही सहुलियत दिन सकिन्छ ।’ उनले भने ।

त्यस्तै इँटा व्यवसायी महासंघका प्रथम उपाध्यक्ष तेजबहादुर चन्दले आफुहरुसँग प्रशस्त इँटा भएको र बजारको माग धान्न सक्ने बताएका छन् । ‘बजारमा इँटा कम छ भन्ने हल्ला छ त्यस्तो विल्कुल होइन ।’ उनले भने ।

यस्तै, सरकारले निर्माण आचारसंहितालाई परिमार्जन गरी निर्माण कार्यलाई जतिसक्दो अगाडी बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्
MBL