Logo

प्राधिकरणलाई टेरेन अर्घाखाँची सिमेन्टले, उद्योगको संरचना हटाउन थप कडाई गर्दै विमानस्थल

प्राधिकरणलाई टेरेन अर्घाखाँची सिमेन्टले, उद्योगको संरचना हटाउन थप कडाई गर्दै विमानस्थल



काठमाडौं । सरकारले भैरहवा विमानस्थलको रनवे निर्माण सम्पन्न भएसँगै अर्घाखाँची सिमेन्टलाई आफ्नो संरचना हटाउन ताकेका गरेको छ । यस अघि नागरिक उड्यन प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई चैत १० गते महानिर्देशक स्तरीय निर्णय गर्दै उक्त उद्योगको प्रि हटिर (चिम्नी) ४० मिटर घटाई केही संरचना हटाउन निर्देशन दिएको थियो ।

तर, रनवे बनिसक्दा पनि सो सम्बन्धमा उद्योगको तर्फबाट कुनै प्रतिक्रिया नआएकाले पुनः ताकेका गर्न लागिएको लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘हामीले उद्योग व्यवस्थापनसँग बुझ्दा उहाँहरुले काठमाडौस्थित हेड अफिससँग सम्पर्क गरिरहेको बताउनुभएको छ,’ अधिकारीले भने, ‘अब विमानस्थलको रनवे समेत निर्माणसम्पन्न भइसकेकाले यस अघिको निर्णय कार्यन्वयन गरी चिम्नी लगायत उद्योगका केही संरचना हटाउन पुन ताकेका गर्नेछौं ।’

प्राधिकरणले यस अघि उद्योगको चिम्नी मात्र हटाउनका लागि पत्र काटेपनि स्थलगत अध्ययनको आधारमा उद्योगले माथिल्लो भागबाटै अन्य संरचना तयार गरेको पाईएकोले सो समेत हटाउनुपर्ने अधिकारीले जानकारी दिए । नियमत धावनमार्ग बन्दैमा अनुमति नलिई सो विमानस्थलमा अन्तराष्ट्रिय उडानका जहाज ल्याण्ड गर्न मिल्दैन । यदि आकाशमा बढी ट्राफिक जाम भएमा वा पाईलटलको आफ्नो तजविजीमा आवश्यक ठानेमा उक्त धावन मार्गमा विमान अवतरण गराउन सक्छ ।

तर, अर्घाखाँची सिमेन्टको उद्योगको कारणले अहिलेको अवस्थामा त्यो समेत गर्न नसकिने उनले जानकारी दिए । ‘गौतमबुद्ध विमानस्थलजस्तोको हकमा रनवेको ४ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्लो संरचना भएको अवस्थामा कुनै पनि उडान गर्नु उच्च जोखिम मानिन्छ,’ उनले भने, ‘उद्योगको संरचना नहटाएसँगै उच्च जोखिम लिएर त्यस्ता खालका अन्तरराष्ट्रिय उडानका कुनै पनि जहाल फोर्स ल्याण्डिङ समेत गर्न सकिने छैन ।’

अधिकारीका अनुसार हाल विमानस्थलको रनवेबाट ४ किलोमिटर वरपर कुनै पनि भौतिक संरचना बनाउन नदिन र यस अघि भएका संरचना समेत हटाईदिनका लागि सम्बन्धित जिल्लाको नगरपालिका तथा गाउपालिककालाई समेत पत्र काटिएको छ । साथै सडक तथा भवन निर्माण डिभिजन कार्यालयलगाय सम्बन्ध निकायलाई समेत उक्त पत्र काटिएको उनले जानकारी दिए ।

कम्पनी व्यवस्थापनका अनुसार उद्योगको प्रि हिटरको उचाई १ सय मिटरभन्दा बढी रहेको । प्राधिकरणले चिठीमा ४० मिटर घटाउन पत्र काटेपनि अन्तरराष्ट्रिय नियम अनुसार ६० मिटरभन्दा बढी घटाउनुपर्ने देखिन्छ । उद्योगको हाल भइरहेको चिम्नीमा ६० मिटरभन्दा बढी घटाउनुपर्ने र माथिल्लो भागबाट जडान गरिएको संरचना समेत हटाउन पर्ने भएका कारण उक्त स्थानमा उद्योग नै राख्न नमिले समेत सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

यसैगरी नागरिक उड्डयन प्राधिकरण अन्तरगतको राष्ट्रिय गौरबका आयोजना हेर्ने प्रमुख प्रदिप अधिकारी पनि विमानस्थल संचालनमा आउनुपूर्व उद्योगले जसरी पनि आफ्नो संरचना हटाउनुपर्ने बताउँछन् । ‘एउटा उद्योगलाई जोगाएर विमानस्थललाई उच्च जोखिममा राखेर संचालन गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘हामीले चिम्नी लगायत संरचना हटाउन पत्र काटिसकेका छौं सायद उहाँहरुले उद्योग सार्नका लागि उपयुक्त स्थान खोजी गर्दै हुनुहुन्छ होला ।’ साथै रनवे निर्माण सम्पन्न भएसँगै सो सम्बन्धमा पुनः ताकेता गरिने समेत उनले जानकारी दिए ।

यसैगरी अर्घाखाँची सिमेन्टका संचालक पशुपती मुरारकाले भने हाल आफुहरुले प्राधिकरणको पत्र आएको सो सम्बन्धमा आवश्यक छलफल गरिरहेको जानकारी दिए । ‘हामीले चिम्नी घटाएर के कसरी उद्योग चलाउने भन्ने विषयमा आन्तरिक रुपमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘सो सम्बन्धमा उपयुक्त बाटो निकाल्ने छौं ।’ उद्योगकै कारण हामीहरु विमानस्थलाई समस्यामा पार्ने छैनौं तर उद्योगको उचित व्यवस्थापनको लागि राज्यले पनि सोच्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL