Logo

राष्ट्र बैंकले दिन थाल्यो बैंक संचालकलाई तालिम, सीईओलाई दबाब नदिन आग्रह

राष्ट्र बैंकले दिन थाल्यो बैंक संचालकलाई तालिम, सीईओलाई दबाब नदिन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बैंकरहरुले आफ्नो जागिरको नविकरण गराउनुपर्ने बाध्यताका कारण सञ्चालकले दिएको लक्ष्य हासिल गर्नमै ध्यान केन्द्रित गर्नुपर्ने बताएपछि केन्द्रिय बैंकले सञ्चालकलाई नै तालिम दिन थालेको हो ।

बिजखबर संवाददाता

७ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक सञ्चालकहरुलाई तालिम दिन थालेको छ । बैंक सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नाफाको उच्च ‘टार्गेट’ दिएका कारण सामाजिक उत्तरदायित्वमा बैंकहरुको ‘पर्फरमेन्स’ कमजोर भएको भन्दै तालिम दिन शुरू गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले बताए । साथै, उक्त तालिममा सीईओलाई बढी नाफाको टार्गेट नदिन समेत आग्रह गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकले वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाको वर्गीकरण हटाउनेबारे सञ्चालकहरुसँग छलफल गर्ने क्रममा यस्तो तालिम पनि संगसंगै दिएरहेको छ । यसअघि बैंकरहरुलाई धेरै नाफामुखि नहुन राष्ट्र बैंकले पटक पटक आग्रह गरेको थियो । ‘राष्ट्रिय अर्थतन्त्र र सामाजिक उत्तरदायित्वप्रति पनि बैंकहरु जिम्मेवार हुनुपर्याे भन्यौं,’ डा श्रेष्ठले भने, ‘तर, बैंकरहरुले सञ्चालक समितिबाट पाएको टार्गेट भेट्टाउनै पर्ने भएकाले अन्यत्र सोच्ने फुर्सद नभएको बताए ।’

खासगरी ठूला भनिएका बैंकका सीईओहरुबाट यस्तो जवाफ पाउने गरेको केन्द्रिय बैंकका अर्का अधिकारीले पनि बताएका छन् । ‘पुराना र ठूलो रकमको कारोबार गर्ने बैंकका सीईओहरुलाई बढी टार्गेट दिइएको पाइयो,’ उनले भने, ‘त्यसकै लागि बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्न थालेको देखिन्छ ।’

बैंकरहरुले आप्mनो जागिरको नविकरण गराउनुपर्ने बाध्यताका कारण सञ्चालकले दिएको लक्ष्य हासिल गर्नमै ध्यान केन्द्रित गर्नुपर्ने बताएपछि केन्द्रिय बैंकले सञ्चालकलाई नै तालिम दिन थालेको हो । समग्र अर्थतन्त्रको आकार ५ प्रतिशतभन्दा कम दरमा बढिरहेको अवस्थामा समेत बैंकिङ क्षेत्रको बृद्धि तीव्र हुनुमा राष्ट्र बैंकका अधिकारीहरु पहिलेदेखि नै चनाखो भइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक भन्दा उपभोग्य क्षेत्रमा अत्यधिक कर्जा प्रवाह गर्नुले अर्थतन्त्रको बृद्धिदर अपेक्षित मात्रामा बढ्न नसकेको एकाथरी विज्ञहरुको भनाइ छ । अनुत्पादक क्षेत्रमा बढेको कर्जाले मुलुकमा उपभोग खर्च बढाएको, व्यापार घाटा बढाउन सहयोग गरेको र मुद्रा स्फिति पनि बढाउन भूमिका निर्वाह गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । यही कारण केन्द्रिय बैंकले उत्पादनमुलक क्षेत्रमा अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने निर्देशन दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL