Logo

१३ दिनदेखि युटीएलको सेवा ठप्प, ५ लाख उपभोक्ता मारमा

१३ दिनदेखि युटीएलको सेवा ठप्प, ५ लाख उपभोक्ता मारमा


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

laxmi

२० फागुन, काठमाडौं । टेलिफोन सेवा प्रदायक युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को सेवा विगत १३ दिनदेखि ठप्प छ । यसले गर्दा सो कम्पनीका ५ लाख ग्राहक समस्यामा परेका छन् । तर, सरकार तथा सम्वन्धित निकायले हालसम्म सञ्चालनमा ल्याउनका लागि कुनै कदम चालेको छैन ।

नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण भने युटिएलको आन्तरिक विवाद भएकोले हस्तक्षप गर्न नमिलेको बताउँदै आएको छ । ‘कर्मचारी र व्यवस्थापनबीचको विवाद भएकोले सिधै हस्तक्षेप गर्न मिल्दैन प्राधिकरणका निमित्त अध्यक्ष कुमार’ शर्माले भने ।

युटीएलले युनियनका कारण सेवा सुचारु गर्न नसकेको भन्दै पत्र पठाएपछी बैकल्पिक उपाय खोज्न निर्देशन दिइएको उनले जानकारी दिए । ‘त्यसमा युटिएल सकारात्मक देखिएपनि हालसम्म प्रगती भएको देखिदैन,’ उनले भने ‘हामीले अझै थप १\२ दिन समय दिएका छौं ।’ तर, हाम्रो सरोकार सेवाग्राहीसँग भएकोले युटिएलको गतिविधि नजिकबाट नियालिरहेको समेत उनले जानकारी दिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव लिमल्सिना भने उपभोक्ताको सरोकारको विषय भएकोले प्राधिकरणले जतिसक्दो चाँडै समस्या समाधान गर्न वा समाधान नभएमा बैकल्पिक उपायबाट सेवा दिनुपर्ने बताउँछन् ।
‘आन्तरिक विवादको विषयमा उपभोक्तालाई सेवा प्रयोगको अधिकारबाट वञ्चित गराउनु भएन’ उनले भने, ‘उपभोक्ताले सेवाको मूल्य तिरिसकेपछी  उपयोग  गर्न पाउनु पर्छ ’। उनका अनुसार आफुले प्रयोग गरिरहेको सेवा एक्कासी बन्द भएको तथा अन्य सेवा प्रदायक रोज्नु परेको अवस्थमा उपभोक्ताले जिल्ला प्रशासनको क्षतिपूर्ती शाखामा क्षतिपूर्ती दावी गर्ने सक्छन् ।

युटिएलले सेवा ठप्प गरेपछि प्राधिकरणले गत बुधवार २४ घण्टा भित्र सेवा सुचारु गर्न निर्देशन दिएको थियो । तर, युटीएलले कर्मचारी युनियनहरुको अवरोधले गर्दा सेवा सुरु गर्न नसकिने भन्दै प्राधिकरणलाई पत्र पठाएको शर्माले बताए ।
आगामी दिनमा पनि सेवा सुचारु नगरिए ऐनमा भएको व्यवस्था अनुसार कारवाही गरिने शर्माले जानकारी दिए । ऐन अनुसार सेवा प्रदायकले सेवा अवरुद्ध गरेको अवस्थामा प्राधिकरणले ५ लाख जरिवाना तिराउन सक्छ । त्यस्तै सो मोवाइल सेवा प्रदायकको अनुमति खारेज गर्ने वा सो कम्पनी सरकार आफुले लिन सक्ने व्यवस्था छ ।

युटिएलको सेवा अवरुद्धबारे मन्त्रालयमा जानकारी दिइसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए । तर, मन्त्रालयबाट हालसम्म कुनै पनि प्रतिक्रिया नआएको समेत उनले जानकारी दिए ।
युटिएलमा कार्यरत कर्मचारी तथा व्यवस्थापनको विवाद बढ्दै गएपछि कर्मचारी आन्दोलनमा उत्रिदा सेवा अवरुद्ध भएको थियो । हाल युटीएलका सबै टावर डाउन भएकोले देशभरका ल्याण्डलाइन, मोवाइल तथा इन्टरनेट बन्द छन् । कम्पनीको देशभर ९८ ओटा टावर छन् ।

यता युटिएलका कर्मचारी भने आफ्नो माग पुरा नभएसम्म काममा नफर्किने बताउँछन् । कम्पनीले युनियनका १० जनालाई निलम्वन गर्ने भनेपछी आन्दोलनमा उत्रिएको युटिएलका इन्जिनियर विकाश झाले बताए । ‘कम्पनीले लगानी र सेवा दुवै बढाउन लाग्दा कर्मचारी कटौती गर्नु कस्तो व्यवस्था हो ?’ उनले भने ।

युटिएलमा व्यवस्थापन पक्ष र कर्मचारी युनियनबीच पटकपटक विवाद हुँदै आएको छ । युटिएलमा हाल ९२ जना कर्मचरी कार्यरत छन् । ती मध्य ५१ जना प्राविधिक तथा अन्य गैर प्राविधिक हुन् । भारतीय लगानीमा स्थापना भएको युटिएलमा हाल रघुबीर महासेठ समूहले लगानी थपेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL