Logo

‘राजनीतिक नेतृत्वले आर्थिक एजेण्डालाई बहसमा ल्याउन सकेन’

‘राजनीतिक नेतृत्वले आर्थिक एजेण्डालाई बहसमा ल्याउन सकेन’


बिजखबर संवाददाता
27
Shares

डा तिलक रावल, पूर्व गभर्नर

पूर्व गभर्नर तथा पूर्व सांसद डा तिलक रावलले अवको एजेण्डा आर्थिक हुनुपर्ने तर यस्तो एजेण्डामा बहस हुन नसकेको विचार व्यक्त गरेका छन । उनको भनाई थियो, चुनावको मुखमा राजनीतिक दलहरुले यस गम्भीर विषयमा बहस गर्न र गराउन नसकेको देखियो ।

विजखबरसँग कुरा गर्दै उनले भने, राजनीतिक एजेण्डाको छिनोफानो भैसकेको छ । यस्तो अवस्थामा आर्थिक एजेण्डामा बेजोडसँग बहस र छलफल हुनुपर्ने हो तर चुनावको पूर्वसन्ध्यामा पनि राजनीतिक नेतृत्वले यस्तो बहस चलाउन सकेनन् ।

उनका अनुसार जनता अव राजनीतिक बिषयमा फेरि अल्मलिन तयार देखिएका छैनन् । राजनीतिक मुद्दामा भाषणबाजी भैरहँदा जनताले भने खासै चासो देखाएका छैनन् ।

यस विषयलाई महत्व नदिएर आर्थिक समृद्धिका कुरा, उन्नति प्रगति, रोजगारी सिर्जना, आर्थिक विकासका कुरा जनताले सुन्न चाहेको आफ्नो बुझाई प्रस्तुत गर्दै डा रावलले भने, हिंसात्मक द्वन्द्व, राजनीतिक व्यवस्थाको परिवर्तन, राजनीतिक अस्थिरता हुँदै अहिलेसम्म आइपुग्दा उनीहरु आक्रान्त छन । आफ्नो जीन्दगीमै आर्थिक प्रगति, उन्नति र गरिवीबाट मुक्ति खोजेका छन, जनताले ।

राजनीतिक दलका घोषणापत्रहरुमा आर्थिक उन्नतिका केही कुराहरु उल्लेख गरिएको बताउँदै उनले राजनीतिक नेतृत्वले आर्थिक एजेण्डालाई ग्रहण नगरेको अथवा नबुझेको हुनसक्ने आशंका गरेका छन ।

उनका अनुसार, आर्थिक एजेण्डालाई बहसमा ल्याउन यो विषयवस्तलाई बुझेको नेतृत्व आवश्यक पर्छ । यो गम्भीर विषयलाई कसैले राम्ररी बुझेको छैन भने उसले त सकेसम्म पन्छिने प्रयास गरिहाल्छ । अहिले ठीक त्यस्तै भएको देखिन्छ । हल्काफुल्का राजनीतिक टिप्पणीमै चुनावी सभाहरु सकिने गरेको देखिन्छ ।

आर्थिक एजेण्डाबारे आफ्नो धारणा प्रस्तुत गर्दै उनले भने, अव अमेरिकामा अथवा युरोपमा जस्तो राजनीतिक नेतृत्वले आर्थिक एजेण्डालाई प्रस्तुत गर्नुपर्छ । जनताले जसको एजेण्डालाई राम्रो मान्छन, उसैले नेतृत्व लिन पाउनुपर्छ ।

सानो मुलुक नेपालको समृद्धि हुन सक्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक नेतृत्व पनि आर्थिक विषयवस्तुको दखल भएको हुनुपर्ने बताए र अगाडि भने, अवको नेतृत्व नै आर्थिक क्षेत्र बुझेको हुनेछ । फरक ढिलोचाँडोको मात्र हो ।

आर्थिक क्षेत्रको ज्ञान भएको नेतृत्वलाई अहिले राजनीतिक नेतृत्वले पन्छाउने गरेका छन तर अव जनताले नै आर्थिक क्षेत्रको नेतृत्वलाई स्थापित गर्न सक्छन । धेरै शिक्षित पुस्ता तयार भैसकेका पनि छन ।

राजनीतिक नेतृत्वको सुझबुझ नहुँदा मुलुकमा व्याप्त साधन र स्रोतको सदुपयोग हुन नसकेको र युवा पलायन तीब्र हुन थालेको उनले बताए । उनको भनाई थियो, मुलुकको आर्थिक विकासबारे राजनीतिक नेतृत्वको स्पष्ट दृष्टिकोण र प्रतिवद्धता भए मुलुक एक डेढ दशकमै समृद्ध हुनेछ ।

तर अधिकांश राजनीतिक दलहरुले अस्थिरता पैदा गर्ने र यसैमा आफ्नो भविष्य देख्ने गरेका छन । संविधानको वर्तमान संरचना अनुसार कसैको बहुमत आउने देखिदैन र फेरि मुलुक राजनीतिक अस्थिरता, पटक पटक सरकार परिवर्तन र सत्ता समीकरण फेरबदलका पुरानै शैलीमा देखिनेछन । यो चुनावले पनि मुलुकलाई स्थिरता दिनेमा म त्यति विश्वस्त छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL