Logo

कर्मचारी परिचालन गर्न नसक्दा बैंक समस्यामा परेको छ

कर्मचारी परिचालन गर्न नसक्दा बैंक समस्यामा परेको छ


रामराजा श्रेष्ठ
27
Shares

बैंकले आगामी दिनमा कृषिको बजारीकरण, उत्पादनको प्रवद्र्धन तथा अनुसन्धानजस्ता क्षेत्रमा लगानी गर्नेछ ।

बैंकको कष्ट अफ फण्ड र वेसरेट बढी भएकाले तत्काल ब्याजदर घटाएर कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । बैंकको वित्तीय अवस्था, कृषि क्षेत्रमा गरेको लगानी र आगामी कार्ययोजनाका वारेमा  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलासँग बिजखबरले गरेको कुराकानीको सार ः

भर्खरै बैंकको प्रमुख कार्यकारी भएर आउनु भएको छ । आगामी दिन बैंकलाई अघि बढाउन के–कस्ता योजना ल्याउनु भएको छ ?

यो निकै पुरानो बैंक हो । खासगरि मुलुकको कृषि विकाशका लागि यसको भुमिका उल्लेखनीय छ । पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्था आएकाले यस क्षेत्रमा प्रतिशपर्धा बढ्यो ।  कृषि विकास बैंक पनि कमर्शियल बैंकमा अपग्रेड भएको छ । नेटवर्क र पूँजीको आधारमा कृषि विकाश बैंकको भुमिका उलेख्नीय हुनुपर्छ । कमर्शियल बैंक भएपछि नयाँ उद्देश्यमा डाइभर्ट भएर कृषिलाई बिर्सिएको भने भान कतिपयलाई परेको छ । हामी उद्देश्यबाट भड्केको हो की भन्ने पनि छ । तर त्यसो होइन ।  सबैभन्दा ठूलो  प्रतिशपर्धात्मक क्षमता भएको क्षेत्र भनेको कृषि नै हो । तसर्थ भड्कनुपर्ने कुनै कारण छैन ।  नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा जाने २० प्रतिशतमध्ये १२ कृषि र उर्जामा लागनी गर्न निर्देशन दिएको छ । कृषि हाम्रो लागि महत्वपूर्ण लगानीको क्षेत्र हो  । कृषिका साथै कमर्शियल बैंकिङ फङ्सनलाई पनि सँगसँगै अघि बढाउने छौं । आगामी दिनमा लगानी विस्तारका साथै जनशक्तिलाई तालीम दिएर अझ दक्ष बनाएर बढी भन्दा बढी नाफा लिनेछौं । यस्तै, प्रविधिलाई चुस्तदुरुस्त बनाएर जोखिम व्यवस्थापन तर्फ ध्यान दिनेछौं ।

नेपाल कृषि प्रधान देश भएपनि बार्षिक अर्बौ रुपैयाँको कषि उपज आयात गरिरहेका छौं, बैज्ञानिक कृषि प्रणालीमा जान बैंकले आगामी दिनमा के योजना ल्याउदै छ ?

यसलाई दुइवटा कोणबाट हेर्नुपर्छ । बैंकले आधुनिक कृषि प्रणालीमा जान चाहने कृषकलाई कर्जा प्रवाह गर्छ । सरकारले युवा बाहिरिने क्रमलाई रोकेर देशभित्रै कृषि क्षेत्रमा लगाउनका लागि सहुलियत कर्जाको व्यवस्था गरेको छ । जसले भाइवल कृषि फार्मिङमा सहयोग पु¥याउछ  । सरल र सहज रुपमा ऋण प्रदान गर्न सकेमा किसान आकर्षित हुन्छन् । हामीले आफ्ना ग्राहकलाई थप सुविधा दिएर बैंकमा राख्ने तथा राम्रा ग्राहकलाई आकर्षण गर्ने योजना बनाएका छौं । हामीलाई क्यापिटल एड्युकेसी समस्या छैन । तर, बैंक भित्रका जनशक्तिलाई सहि ढंगबाट परिचालन गर्ने, नयाँ जनशक्तिलाई बैंकमा प्रवेश गराउने सोचमा छौं । बैंकभित्र जनशक्तिको परिचालन नभएको अहिलेको समस्या हो । ह्युमन रिसोर्स म्यानेजमेन्टको सबैभन्दा ठूलो समस्या छ ।

lilaprakash-1

राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत ब्याजमा कर्जा दिन थालिसक्यो तर कृषि क्षेत्र विकासकै लागि स्थापना भएको बैंकको ब्याजदर बढी छ । आगामी दिनमा कृषकलाई कति प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउनु हुन्छ ?

हाम्रो कष्ट अफ फण्ड बढी छ । बेस रेट पनि हाइ छ । कर्मचारी बढी छन् । त्यसले गर्दा बेस रेट भन्दा तल गएर लगानी गर्न सकिँदैन । वाणिज्य बैंकले नेपाल सरकारको फण्ड प्रयोग गर्छ जसले गर्दा ५ प्रतिशतमा ब्याजमा कर्जा उपलब्ध गराउन सक्ला । हामी पनि खर्च घटाउन लागि परेका छौं । कर्मचारीको इफिसेन्सी बढाएर लागत घटाउनु बैंकको मुख्य चुनौती हो । तर, यसका लागि केही समय चाहिन्छ । व्यवसाय बृद्धि गरेर जनशक्तिलाई परिचालन गर्नुका साथै आधुकिन प्रविधिसँग खेल्नसक्ने दक्ष जनशक्ति भित्र्याएर खर्च घटाएपछि मात्र संस्थाले गति लिनेछ । आगामी दिनमा खर्च कटौती गरेर कृषकलाई कम ब्याजदरमा कर्जा प्रवाह गर्ने तर्फ ध्यान दिने छौं । तर, अहिले नै तोक्न कठिन छ ।

कर्मचारी खर्च बढी छ भन्नु भयो, यही खर्चमा जाँदा त बैंकले गति लिने देखिदैन नी ?

यहाँका धेरै जसो कर्मचारीले अवकाश पाउँदैछन् । जसले गर्दा स्वभाविक रुपमा खर्च कम हुन्छ । तर, खर्च घटाउने भन्दैमा कर्मचारीलाई दिइरहेको सुविधा घटाउन मिल्दैन । भीआरएसबाट कर्मचारी घटाउन सकिन्छ तर त्यसो गर्दा बैंकलाई फाइदा नपुग्न पनि सक्छ । सकेसम्म स्वभाविक रुपमा रिटायर भएर जान्छन् । बाँकी कर्मचारीलाई परिचालन गर्दा आफै व्यवस्थपन मिल्दै जान्छ ।

कृषि क्षेत्र विकास गर्ने उद्देश्य अनुरुप स्थापना भएको यस बैंककोे धेरैजसो कर्जा कमर्शियल क्षेत्रमा प्रवाह भएको देखिन्छ । कृषिमा मात्र लगानी गर्दा फाइदा नभएर अन्त डाइभर्ट भएको हो ?

अहिले पनि बैंकको ५० प्रतिशत लगानी कृषि मै छ । मुख्य कृषि क्षेत्रमा हाम्रो लगानी छ  । तसर्थ यसलाई विस्तापित गरेको भन्न मिल्दैन ।  तर, केही डाइभर्ट भएको शंका जनमानसमा छ । लगानीका लागि उपयोगी क्षेत्र कृषि नै हो । कृषिमा लगानी गरेर उत्पादकत्व बढाउन सके बैंकिङ तथा देशको समग्र अर्थतन्त्रलाई नै राम्रो गर्छ । आगामी दिनमा कृषि क्षेत्रलाई अझै प्राथमिकता दिएर अघि बढ्नेछौं ।

आगामी दिनमा बैंकले कृषिको कुन क्षेत्रलाई बढी प्राथमिकता दिनेछ ?

हिजो उत्पादनमुलक क्षेत्रमा मात्र फोकस थियो । आगामी दिनमा कृषिको बजारीकण, उत्पादनको प्रवद्र्धन तथा रिसर्च गर्ने क्षेत्रमा लगानी गर्नेछौं । जुन कृषि क्षेत्र विकासका लागि एकदमै आवश्यक छन् ।

बैंकमा ट्रेड युनियनको हावी छ , यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्नुहुन्छ ?

युनियनहरुको आ–आफ्नै कार्यक्षेत्र तथा भुमिका छ । उनीहरु व्यवसायिक गतिविधि सञ्चालनमा बाधक बन्छन् जस्तो लाग्दैन । उनीहरुलाई आफ्नो भुमिकामा बस्नुपर्छ भनेका छौं । हस्तक्षेपको अवस्था आएमा विचार तथा छलफल गरेर अघि बढ्नेछौं ।

बैंकको आन्तरिक समस्याले गर्दा यस बर्ष बैंक दिवस मनाउन सक्नुभएन त्यसले गर्दा बजारमा नकारात्मक सन्देश गएन ?

यसमा कानुनी कारण छ । बैंक दिवसमा व्यवस्थापन र सिइओ सवै कुरामा सहभागी हुनुपर्ने थियो । अदालतको निर्णय विचाराधिन अवस्थामा रहेकोले नगरिएको हो । यसले कुनै अप्ठ्यारो पार्दैन ।

lilaprakash-2

प्रविधिमा बैंक निकै पछाडी छ, यस्तो बैंकलाई ग्राहकले कसरी विश्वास गर्ने ?

कृषि विकास बैंक प्रविधिमा पछाडी छैन ।  अहिले पनि ८० प्रतिशत ट्रान्जेक्सन सीवीएसबाटै भइरहेको छ । इण्टरनेट सुविधा नपुगेको  ठाउँमा मात्र कम्प्युटराइज सिस्टममा लान सकिएको छैन । चालू आर्थिक वर्षमा १० वटा एटीएम काउण्टर थप गर्दै छौं । त्यस्तै  मोवाइ तथा इ–बैंकिङमा पनि अघि बढ्ने छौं । ३ बर्ष भित्रमा बैंकका सवै कामलाई प्रविधिमा लैजान्छौं ।  हाल सबै बैंकिङ शाखाबाट इलेक्ट्रोनिक बैंकिङ भएन भन्ने गुनासो छ । यसलाई विस्तारै सवै ठाउँमा पु¥याउँछौं । इन्टरनेट पुगेका सवै स्थानमा प्रविधिको प्रयोग गरेका छौं । यस्तै,आगामी दिन डेविट तथा क्रेडीट कार्डलाई पनि कार्यान्वयमा ल्याउनेछौं ।

पूर्णरुपमा डिजिटल बैंकिङमा कहिलेसम्म जानुहुन्छ ?

अधिकांश काम डिजिटल प्रविधिबाटै हुन्छ । कोर बैंकिङ फङ्सनमा ल्याइसकेका छौं । १/२ बर्षमा ई–बैंकिङ प्रणाली लागु गर्छौ ।

अहिले पनि खराव कर्जा अनुपात ६ प्रतिशतको हाराहारीमा छ, यसलाई घटाउन कस्तो कार्यक्रम ल्याउदै हुनुहुन्छ ?

यी सवै प्रोसस छन् । सकेसम्म बढी रिकभरी गरेर पुराना लोन सेटलमेन्ट गर्ने काम गरिरहेका छौं । हामीसँग ठूला ऋणी १५/२० वटा छन् । त्यसले गर्दा बैंकको एनपीएल बढी भएको हो । यसलाई पनि विस्तारै उठाउँदै जानेछौं ।

रणनितीक साझेदार ल्याउने बारेमा छलफल गरेको झण्डै १० बर्ष भइसक्यो । तर, अझैसम्म ल्याउन सक्नु भएन नी ?

साझेदार त्यतिकै भित्रने होइन । उनीहरुका आफ्ना दृष्टिकोण हुन्छन् । सरकारलाई सवै सेयर फ्लोट गर्न गाह्रो छ ।  सरकारको पनि आफ्ना प्राथमिकता हुन्छन् । अलिहे पनि साझेदार खोज्ने क्रम जारी छ । साझेदार ल्याउँदा कस्ता रणनीति तथा शर्त राख्नुपर्छ यी सवै कुरामा छलफल भइरहेको छ । हाम्रो अन्तिम उद्देश्य भनेको साझेदार ल्याउने नै हो । त्यसको निकास निस्कन्छ भन्नेमा विश्वस्त छु । यस विषयमा अर्थमन्त्रालयले काम अघि बढाइरहेको छ ।

तपाइले सीइओ भएर आइसकेपछी बैंकले कहिलेसम्म रणनीतिक साझेदार पाउला ?

यसको मुख्य भुमिका अर्थमन्त्रालयले निर्वाह गर्छ । हामीले सपोटिङ रोल खेल्ने हो । हामी सधै तयार छौ । सम्भावित रणनीतिक साझेदार खोज्न सहयोग गरिरहेका छौ ।

बैंकको द्धन्द्धकालमा विस्थापित भएकामध्ये कतिवटा शाखा पुर्नस्थापना भए ?

हालसम्म २ सय ४१ वटा शाखा कार्यालय संचानमा रहेका छन् । विस्थापित भएका मध्ये १५ वटा शाखा कार्यालय विस्तार हुनु बाँकी छ ।

ग्राहकले कृषि विकाश बैंकबाट कर्जा लिन गाह्रो छ भन्ने गुनासो गर्छन नी ?

बैंकको मुख्य उद्देश्य गुणस्तरिय सेवा प्रदान नै हो । त्यसमा कुनै दुईमत छैन । हामीले विना झण्झट सेवा प्रदान गरिरहेका छौं । म प्रमुख कार्यकारी अधिकृत भएर आएपछि आफुमातहमा सम्पूर्ण शाखाका कर्मचारीलाई ग्राहकलाई छिटो छरितो रुपमा कर्जा प्रवाह गर्न निर्देशन दिएको छु । तर, बैंकको नीति नियमभन्दा बाहिर गएर कर्जा प्रवाह गर्दैन ।

प्रतिक्रिया दिनुहोस्
MBL