Logo

छोटो समयमै व्यवसायिक बन्दै फुटसल, झण्डै १ अर्वको लगानी

छोटो समयमै व्यवसायिक बन्दै फुटसल, झण्डै १ अर्वको लगानी


रामराजा श्रेष्ठ
0
Shares

अर्जुन पाख्रिन तामाङ

१६ पुस, काठमाडौं । तीन वर्ष अघि सामान्य सोचका साथ स्थापना गरिएको फुटसल अहिले व्यवसायिक बन्दै गएको छ । त्यतिबेला नावाङ निमा लामाले थाइल्याण्ड भ्रमणको क्रममा अरुले खेलेको देखेर नेपालमा पनि व्यवसायिक रुपमा अघि बढाउन सकिने सोचका साथ स्थापना गरिएको फुटसल अहिले व्यवसायिक बन्दै गएको हो ।

नेपालमा पहिलो पटक काइजन स्पोट्र्स सलुसन प्रा.लिले ठमेलमा एरेना फुटसल स्थापना गरेको थियो । उसले सन् २०११ मा करिव ढेड करोडको लगानीमा उक्त फुटसल स्थापना गरेको काइजन स्पोर्टसका संचालक लामा बताउँछन् । ३ वर्ष अघि सामान्य रुपमा संचालनमा आएको फुटसल अलिहे द्वुत रुपमा विस्तार हुँदै गएको छ । योे खेल सजिलो र जुनसुकै समयमा टीम मिलाएर खेल्न सकिने भएकोले यसप्रति सबैको रुचि बढेको लामा बताउँछन्  ।

पछिल्लो समय नेपालमा फुटसल व्यवसायिक रुपमा अघि बढेको शान्तिनगर फुटसलका संचालक थम्सन भुसाल बताउँछन् । ‘छोटो समयमै फुटसल व्यसायीक रुपमा अघि बढेको छ,’ उनले भने, ‘हाल काठमाडौं उपत्यकामा करिव ४५ वटा फुटसल संचालनमा रहेका छन् भने उपत्यका बाहिर पनि झण्डै १ दर्जन फुटसल संचालमा छन् ।’ उपत्यका बाहिर पोखरामा संचालन भइरहेको छ भने हेटौडा, बनेपालगायतका स्थानमा पनि केही समयमै संचालनमा आउन लागेको छ ।

हाल उपत्यका र उपत्यका बाहिर दर्जनौं फुटसल खुल्ने क्रममा छन् । हाल भुसालले मात्रै उपत्यको शान्तिनगर फुटसल, युन फुटसल र फुटसल भिलेज संचालन गरिरहेका छन् भने उपत्यका वाहिर पनि छिट्टै स्थापना गर्ने तयारी भैरहेकोे जानकारी दिए ।

futsal_rajubikram_bizkhabar.com

साङ्ग्रीला होटलका ग्रुप जनरल म्यानेजर तथा साङ्ग्रीला फुटसल टीमका क्याप्टेन राजुविक्रम शाह पनि यस खेललाई जुनसुकै समयमा पनि खेल्न सकिने भएकाले रमाइलो हुने बताउँछन् । ‘फुटसल इन्डोर  खेलिने खेल भएकाले यसलाई घाम, पानी तथा मौसमले कुनै असर पार्दैन,’ शाहले भने, ‘यसले शरिरलाई फिटनेश राख्नुका साथै ‘स्ट्रेस–बुस्टर’ गर्न समेत सहयोग गर्दछ ।’ साथै, यसखेलले साथीभाइमा भाइचारको सम्बन्ध स्थापना गर्नुका साथै पारिवारिक रुपमा जमघट गर्न समेत सहयोग गर्ने उनी बताउँछन् ।

कसरी शुरु भयो नेपालमा फुटसल ?

नेपालको पहिलो फुटसल संचालक नावाङ निमा लामा सन् २००९ मा थाइल्याण्ड गएका बेला पहिलो पटक फुटसल खेल देखेका थिए । थाइल्याण्डमा फुटसल खेलेको देखेपछि नेपालमा पनि यस्तो गेमको अवधारण बनाएर सञ्चालन गर्न सकिएमा सफल हुने विश्वास लामा आयो । त्यस पछि लामाले सन् २०११ मा पहिलो पटक फुटसल संचालनमा ल्याएका थिए ।

फुटसल खेलको विशेषता

फुटसलका लागि ठूलो ठाउँ नचाहिने भएकोले पनि खेल खेल्न सजिलो र रमाइलो हुन्छ । विशेषगरी ५/५ जनाको टीम मिलाएर खेलिने यो खेल जुनसुकै उमेर समुहका व्यक्तिले पनि खेल्न सक्नेछन् । खेल्दा रमाइलो र स्वास्थ्यको लागि फाइदा हुने व्यवसायीहरुको भनाई छ । सानो टीम र जुनसुकै वेलामा खेल्न सकिने यस खेलाको मुख्य विशेषता भएको ग्रुप जनरल म्यानेजर राजुविक्रम शाह बताउँछन् ।

futsal_bizkhabar.com

खेलप्रति कर्मचारीहरुको बढ्दो आकर्षण

विशेषगरी यस खेलप्रति सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरु आकर्षित भएका छन् । जुनसुकै वेला खेल्न सकिने र छोटो समयमै शरिरलाई फिटनेश राख्न मद्दत गर्ने भएकाले पनि उनीहरुको यस खेल प्रति मोह बढेको छ । फुटसलको सुरुवातको दिनमा पनि यही वर्गलाई लक्षित गरेर नेपालमा फुटसल भित्र्याइएको नावाङ बताउँछन् । अहिले नेपालका फुटसलहरुले संस्थागत सदस्यताको साथै कर्पोरेट टीमहरुलाई पनि समेटेर थप व्यवसायिक बनाउँदै लगेका छन् । पछिल्लो समय विभिन्न संस्थाहरुले पनि फुटसल ग्राउण्ड भाडामा लिएर टुर्नामेन्ट संचालन गर्ने क्रम विकास भएको छ ।

ग्राउण्डको भाडा प्रतिघण्टा रू. २ हजार २ सयसम्म

पछिल्लो समय फुटसल ग्राउण्ड नै भाडामा लिने क्रम विकास भए पछि व्यवसाय झन फस्टाएको व्यवसायीहरु बताउँछन् । अहिल व्यवसायीहरुले फुटसल ग्राउण्डको प्रति घण्टा १ हजार १ सय देखि २ हजार २ सय रूपैयाँसम्म लिने गरेको छ ।

arena_bizkhabar.com

झण्डै रू. १ अर्व लगानी  

एउटा फूटसल निर्माणको लागि डेढ करोड रुपैयाँभन्दा बढी लाग्ने गरेको छ । फुटसल ग्राउण्ड बनाउनको लागि मात्रै ६० लाख रुपैयाँभन्दा बढी खर्च हुने शान्तिनगर फुटसलका संचालक भुसाल बताउँछन् । यसैगरी यसका लागि अन्य आवश्यक सामग्री खरीद तथा सेटिङ गर्दा १ करोड भन्दाबढी लगानी हुने उनले जानकारी दिए । उपत्यकामा ४५ वटा फुटसल र उपत्यकाबाहिर एक दर्जनभन्दा बढी  फुटसल संचालनमा रहेका छन् ।

जोखिम पनि उत्तिकै

यसरी छोटो समयमा फुटसलले व्यवसायीक सफलता हासिल गर्नुमा सकरात्मक पक्ष हो । तर, एउटै व्यवसायमा धेरैले लगानी गर्न थालेपछि जोखिम पनि उत्तिकै बढेदै गएको छ ।
पछिल्लो समय खेल्नेको संख्याभन्दा पनि खुल्ने क्रम उच्च रुपमा बढेको व्यवसायीहरु बताउँछन् । यसले गर्दा आगामी दिनमा व्यवसायीहरुलाई लगानी उठाउन नै कठिन हुनसक्ने समबद्ध व्यवसायीहरुको भनाइ छ । आगामी दिनमा फुटसल ग्राउण्ड निर्माणभन्दा पनि यसको बजारिकरण पक्षलाई बढी ध्यान दिनुपर्ने लामा बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL