Logo

बजाज समूहका प्रमुख निरज बजाजले किने चार अर्ब बढीको फ्ल्याट, कति छ उनको सम्पत्ति ?

बजाज समूहका प्रमुख निरज बजाजले किने चार अर्ब बढीको फ्ल्याट, कति छ उनको सम्पत्ति ?



काठमाडौं । सपनाको सहरका रुपमा चर्चित भारतको मुम्बई फेरि एकपटक चर्चामा छ । किन नहोस्, मुम्बईमा भारतकै सबैभन्दा महँगो फ्ल्याट बिक्रि भएको छ । यो फ्ल्याटको मूल्यले आम मानिसदेखि विशेषसम्ममा तरंग मच्चाएको छ । दक्षिण मुम्बईको वाल्केश्वर क्षेत्रमा रहेको आवासीय रियल इस्टेट लोढा मालाबार प्यालेसको पेन्टहाउस फ्ल्याट २५२ करोड भारु (चार अर्ब रुपैयाँ बढी) मा बिक्री भएको छ।

कसले किन्यो फ्ल्याट ?

फ्ल्याट किन्ने कोही आम मानिस होइनन भन्ने स्पष्ट छ । चर्चित उद्योगपति तथा बजाज समूहका प्रर्र्वद्धक नीरज बजाज २५२ करोडमा ट्रिपलेक्स फ्ल्याट किनेका हुन् । यसअघि वेलस्पन ग्रुपका बीके गोयन्काले मुम्बईमै २४० करोडमा पेन्टहाउस किनेका थिए । अब झनै महँगो फ्ल्याट किनेर नीरज बजाज भारतकै महँगो फ्ल्याटको मालिक बनेका छन् । बजाज र म्याक्रोटेक डेभलपर्सबीच १८ हजार स्क्वायर फिटको फ्ल्याटको सम्झौता भएको छ ।

को हुन् नीरज बजाज ?

बजाज समूहका प्रवर्द्धक नीरज बजाज एसियाकै धनी व्यक्तिमध्ये एक हुन् । उनको जन्म सन् १९५४ मा भएको थियो । उनको प्रारम्भिक शिक्षा क्याथेड्रल र जोन कन्नन स्कूलमा भएको थियो। उनले सिडेनहम कलेजबाट अर्थशास्त्रमा स्नातक गरे। उनले हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका छन् । उनी बजाज समूहका प्रमुख हुन् ।

नीरज बजाज बजाज समूह अन्तर्गतको स्टेनलेस स्टील उत्पादन कम्पनी मुकन्द लिमिटेडका अध्यक्ष र एमडी हुन्। यसबाहेक बजाज अटो, बचराज एन्ड कम्पनी र जमनालाल सन्सको कमाण्ड पनि नीरज बजाजसँग छ । बजाज अटो, बजाज एलियान्ज र जनरल इन्स्योरेन्स सबै नीरज बजाजको नेतृत्वमा छन्।

नीरज बजाज टेनिस खेलाडी हुन्

नीरज बजाज व्यापारका साथै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट छन् । उनी टेबल टेनिसका च्याम्पियन खेलाडी हुन् । उनले ४ पटक च्याम्पियनसिप जितेका छन् । टेबल टेनिसमा उनले सातपटक भारतको प्रतिनिधित्व गरिसकेका छन् । उनले खेलकुदका लागि अर्जुन अवार्ड पनि पाएका छन् ।

बजाज समूहमा ५० हजारभन्दा बढी कर्मचारी रहेका छन् । कम्पनीको मार्केट क्याप ९०००० करोड भारतीय रुपैयाँ छ। नेटवर्थको कुरा गर्दा फोर्ब्सको सूची अनुसार उनको कुल सम्पत्ति ६५ हजार करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्
MBL