Logo

पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न, स्पष्ट वित्तीय नीतिको आवश्यकतामा बहस

पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न, स्पष्ट वित्तीय नीतिको आवश्यकतामा बहस



काठमाडौं । देशको वर्तमान आर्थिक अवस्था र सुधारका संभावित उपायहरुमा केन्द्रित भई पूर्व अर्थमन्त्री फोरमको बैठक गत साता सम्पन्न भएको छ ।

बैंठकमा अर्थतन्त्रलाई बलियो र दिगो बनाउनका लागि दीर्घकालीन नीतिको तर्जुमा र कार्यान्वयनका विषयमा विशेष छलफल भएको थियो । त्यसैगरी वर्तमान आर्थिक अवस्थाको सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवं लगानीमैत्री वातावरणको सृजना गर्नुपर्ने, लगानीकर्ताहरुलाई प्रोत्साहन गरिनुपर्ने, मौजुदा नीति नियममा सुधार गरिनुपर्नेमा सहभागी पूर्व मन्त्रीहरुको विशेष जोड रहेको थियो ।

विगत केही समयदेखि उत्पन्न तरलताको समस्या र बढ्दो ब्याजदरको कारण आम उद्योग÷व्यवसायमा परेको असरका विषयमा समेत चिरफार गरिएको थियो । नेपाल सरकारको कमजोर पूँजीगत खर्च गर्ने प्रणालीमा व्यापक सुधार गर्न, चालू खर्चमा भएको बढोत्तरीलाई न्यूनिकरण गर्दै मितव्ययीता अपनाउन र विदेशी मुद्रा आर्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बैंठक केन्द्रित भएको थियो ।

वर्तमान आर्थिक परिदृश्यहरुलाई संवेदनशीलरुपमा लिँदै आगामी बजेटले उद्यमशीलता, लगानी, उत्पादन, रोजगारी र आयात प्रतिस्थापनका विषयमा स्पष्ट वित्तीय नीतिहरु अवलम्बन गरिनुपर्नेमा समेत सघन छलफल गरिएको थियो । बैंठकले सबल अर्थतन्त्र निर्माणका लागि उत्पादनमूलक क्षेत्रहरुमा लगानी विस्तार, रोजगारीका अवसरहरुको सृजना, स्वदेशी उत्पादनमा जोड दिँदै स्वदेशी उत्पादनहरुको उपभोग र निर्यातमा प्रोत्साहन, बजारमा देखिएको मुद्रास्फितीको नियन्त्रण, बैंक तथा वित्तीय संस्थाहरुको ऋण असुली र आर्थिक गतिविधिलाई चलायमान बनाउने जस्ता विषयमा मौद्रिक नीतिमार्फत सहजता प्रदान गर्न सुझाव दिने बैठकले निर्णय गरेको थियो ।

त्यसैगरी बैंठकले देशको समग्र आर्थिक अवस्थामा देखिएका समस्या तथा चुनौतीहरुको समुचित निकास पहिल्याउनका लागि फोरमको आयोजनामा सरोकारावाला सम्पूर्ण पक्षहरुको सहभागिता हुनेगरी निकट समयमा नै एक वृहत आर्थिक बहस कार्यक्रम संचालन गर्ने निर्णय गरेको र आवश्यक तयारी समेत अगाडि बढाइसकिएको पूर्व अर्थमन्त्री फोरमका सदस्य सचिव विमल केडियाले जानकारी गराए ।

उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरु डा. सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थ सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL