Logo

फाइभजी परिक्षण अनुमतिलगत्तै आइओटी र एमटुएम पनि नियमन गर्ने तयारी, यस्तो छ मस्यौदा

फाइभजी परिक्षण अनुमतिलगत्तै आइओटी र एमटुएम पनि नियमन गर्ने तयारी, यस्तो छ मस्यौदा



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएलगत्तै इन्टरनेट अफ थिंग्स (आइओटी) र मेसिन टु मेसिन (एमटुएम) नियमनको मस्यौदासमेत तयार पारेको छ । 

laxmi

प्राधिकरणका अनुसार आगामी ४ दिनमा यससँग सम्बन्धित सरोकारवालाहरुले राय सुझाव दिन मिल्ने गरी उक्त मस्यौदा सार्वजनिक गरिएको हो । मस्यौदामा आगामी दिनमा कुनै सेवाप्रदायकले नेपालमा आइओटी र एमटुएम सेवा उपलब्ध गराउन चाहेको अवस्थामा अनुमति दिने उल्लेख गरिएको छ । पछिल्लो समय विश्वमा बढ्दै गएको प्रविधिको प्रयोग, विस्तार र नयाँपनसँगै नेपाललाई पनि लैजान फाईभजी प्रविधिसँगै आइओटी र एमटुएम संचालनको तयारी गरिएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताए ।

‘फाईभजी प्रविधि आइओटी र एमटुएमका लागि अत्यावश्यक प्रविधि हो अर्थात यसकै लागि फाईभजी प्रविधि आवश्यक पर्दछ,’ उनले भने, ‘पछिल्लो समय विश्वका हरेक देशहरु यहि प्रविधिको विकाससँगै अघि बढिरहेकाले नेपालले पनि उक्त प्रविधि पछ्याउने तयारी गरेको हो ।’
प्राधिकरणले गत हप्ताको शुक्रबार नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई पाँचौ पुस्ताको फाईभजी परिक्षणका लागि अनुमति दिएको थियो । फाईभजी भनेको मोबाईल नेटवर्कको पाँचौं पुस्ता हो । यसले सबै प्रकारका डिजिटल उपकरणहरुलाई एकआपसमा जोड्न सहयोग पुर्याउँछ । अर्थात एउटा डिभाईसलाई अर्को डिभाईससँग जोड्न यसको ठुलो हात हुन्छ । जसमा आईओटी र मेसीन टु मेसिन लर्निङ यसका महत्वपुर्ण हिस्सा हुन् । 

प्राधिकरणले सार्वजनिक गरेको आईओटी र एमटुएम नियमनसम्बन्धी फ्रेमवर्क २०७८ को मस्यौदामा हाल नेपालमा दूरसंचार सेवा दिईरहेका सेवाप्रदायकलाई पनि यसको लाईसेन्स दिन सकिने उल्लेख छ । यस्तै हाल संचालित बाहेक अन्य नयाँ कुनै निकायले पनि आईओटी र एमटुएम सेवा उपलब्ध गराउने भए नयाँलाई पनि लाईसेन्सका लागि अनुमति लिन नपर्ने ब्याण्डमा चलाउन दिने निर्देशक स्थापितको भनाई छ । उनका अनुसार हाल संचालनमा रहेका सेवाप्रदायकले उनीहरुसँग भएको ब्याण्डविथको प्रयोग गरी सेवा दिन सक्नेछन् भने नयाँ आउने कम्पनीहरुका लागि लाईसेन्स लिन नपर्ने ब्याण्ड उपलब्ध गराएर आईओटी र एमटुएमका लागि मात्रै अनुमति दिने योजना छ । 
 

के हो आईओटी र एमटुएम ?

इन्टरनेट अफ थिंग्सको छोटो रुप हो आईओटी । कुनै एक डिभाईसलाई अर्को डिभाईमा अर्डर दिन, अर्डरअनुसारको काम गर्न र प्रतिक्रिया दिनका लागि मानीसको उपस्थितिविनै काम गर्ने प्रविधि हो । यसका लागि निश्चित डिभाईसहरु तोकिएका हुन्छन् । जसमार्फत एक डिभाईसले अर्को डिभाईसलाई मानीसको उपस्थितिविनै काम गराउन र अर्डर गर्न सक्छन् ।

सामान्य भाषामा बुझ्दा तपाईँको घरको फ्रिजमा भएको तरकारी सकियो भने तपाईँले झन्झट लिनुपर्दैन फ्रिज आफैले के तरकारी कति चाहिने कहिले ल्याउनुपर्नेलगायतका डाटा संकलन गरी बजारमा आफै अर्डर गर्छ । यसका लागि फ्रिजले तरकारी अर्डर गर्ने बजारमा पनि आईओटी कम्प्याटीबल डिभाईसमार्फत सेवा भने सुचारु हुनुपर्छ । यस्तै घरको बत्तिदेखि तपाईँको कम्प्युटरसम्म यसको प्रयोग गर्न सकिन्छ । नेपालमा भने दुरदराजका स्थानहरुमा टेलिमेडिसिन सेवा दिन, यातायात क्षेत्रमा अटोमेशन ल्याउनलगायतमा यसको प्रयोग हुने देखिन्छ । कुनैपनि विद्युतीय डिभाईसहरु एकआपसमा इन्टरकनेक्सन भएको अवस्थामा मानीसलाई गर्नुपर्ने कामहरुमा धेरै सहजीकरण हुनेछ । 

यस्तै एमटुएम अर्थात मेसिन टु मेसिन कम्युनीकेसन भनेको कुनै एक मेसिनले अर्को मेसिनसँग प्रत्यक्ष गर्ने कम्युनीकेसन हो । यो खासगरी दुर्गम क्षेत्रमा औद्योगिक प्रयोगका लागि महत्वपुर्ण मानिन्छ । निश्चित क्षेत्रको तापक्रम नाप्ने र सोही अनुसारको तापक्रम उपुयुक्त बनाउनेलगायतका फाईदा यसबाट लिन सकिन्छ । यो पनि आईओटीकै अर्को रुप भएपनि आईओटीमा डिभाईस टु डिभाईस कम्युनीकेसन क्लाउड वा कुनै सफ्टवेयरमार्फत हुन्छ । 

यस्तो छ मस्यौदाको पुर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/19ycJ3Nl5ulGO26Y8BMbyyPMlqkCnk2fl/preview” query=”” width=”800″ height=”1000″ /]

प्रतिक्रिया दिनुहोस्
MBL