Logo

नेप्सेमा ११४ अंकको पहिरो, लगानीकर्तामा अन्यौलकाबीच कारोबार रकमले भने गर्यो अर्कै संकेत

नेप्सेमा ११४ अंकको पहिरो, लगानीकर्तामा अन्यौलकाबीच कारोबार रकमले भने गर्यो अर्कै संकेत



काठमाडौं । केही दिनयता ओरालो लागेको सेयर बजारमा यो साताको पहिलो कारोबार भएको दिन सोमबार पहिरो गएको छ । बिहान बजार खुलेदेखि नै ओरालो यात्रा शुरु गरेको नेप्से ११४.०२ अंकले घटेर बन्द भयो ।

यससँगै नेप्से परिसूचक पनि २६९८ विन्दुमा झरेको छ । सोमबार बजारमा सबै समूहका परिसूचक घटेका छन् । सोमबार २२५ वटा कम्पनीको सेयर कारोबार भएकोमा नौ वटा कम्पनीबाहेक सबै अर्थात् २१६ वटा कम्पनीको सेयर ओरालो लागेको छ ।

सोमबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वाधिक कारोबार भयो । कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भयो ।

यस्तै सोमबार जम्मा ८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये ३ वटा डिबेञ्चर, एउटा म्युचुअल फण्ड र अन्य ४ वटा भने कम्पनी रहेका छन् । विभिन्न ७ वटा कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ ।

सेयर बजारमा ठूलो अंकको गिरावट आएपनि कारोबार रकम भने सोमबार बढेको छ । सोमबार एक करोड ७३ लाख कित्ता सेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । यसले सेयर बजारमा लगानीकर्ताहरु सक्रिय रहेको देखाउँछ । ‘सर्वसाधारण लगानीकर्ताहरुको प्यानिक सेलका कारण बजार ठूलो अंकले घटेको भएपनि कारोबार रकममा सुधार आएकाले बजारमा लगानीकर्ता सक्रिय रहेको देखाउँछ । यसले बजारले केही समयमै स्थिरता पाउने देखिन्छ’, एक विज्ञले बिजखबरसँगको कुराकानीमा बताए ।

पछिल्लो समय नेप्से परिसूचकका साथै कारोबार रकममा समेत गिरावट आइरहेको थियो । दैनिक २१ अर्ब रुपैयाँभन्दा बढीसम्मको सेयर कारोबार हुन थालेको बजार अघिल्लो हप्ता ५ अर्ब रुपैयाँमा झरेर खुम्चिएको थियो । गत मंगलबार सेयर बजारमा ५ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL