Logo

चुलिँदै व्यापार घाटा, ११ महिनामा सवा खर्बको निर्यात हुँदा पौने १४ खर्बको आयात

चुलिँदै व्यापार घाटा, ११ महिनामा सवा खर्बको निर्यात हुँदा पौने १४ खर्बको आयात



काठमाडौं । चालू आर्थिक वर्ष २०७७ /७८ को पछिल्लो ११ महिनामा नेपालले १५ खर्ब बढिको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार पछिल्लो ११ महिनामा मात्रै १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ बराबरको आयात निर्यातको व्यापार भएको हो । जुन गत बर्षको सोही अवधिको तुलनामा २६ दशमलव ५६ प्रतिशतले बढि हो ।

laxmi

गत आवको यहि अवधिमा नेपालले ११ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालु आवको पछिल्लो ११ महिनामा नेपालले गर्ने आयातको व्यापारमा २५ दशमलव ६७ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यातको व्यापारमा ३७ दशमलव ७८ पतिशतको वृद्धि देखिएको छ ।

भन्सार विभागका अनुसार नेपालले यस अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँ बढिको मालवस्तु निर्यात पनि गरेको छ ।

यसरी आयात र निर्यातको आँकडा हेर्दा नेपालको वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा ७ दशमलव ४० प्रतिशत हुँदा आयात व्यापारको हिस्सा ९२ दशमलव ६० प्रतिशत हुन आउँछ । जसका कारण नेपालले पछिल्लो ११ महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको व्यापारघाटा व्यहोर्नुपरेको छ ।

जुन गत बर्षको सोही अवधिको तुलनामा २४ दशमलव ६१ प्रतिशतले बढि हो । गत बर्षको यही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL