Logo

गैरकानुनी रुपमा सेवा दिएको भन्दै एनसेललाई कारवाही, जरिवाना सहित सेवा बन्द गरिने

गैरकानुनी रुपमा सेवा दिएको भन्दै एनसेललाई कारवाही, जरिवाना सहित सेवा बन्द गरिने


रामराजा श्रेष्ठ
0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना सेवा सञ्चालन गरेको भन्दै एनसेल प्रालिलाई कारबाही गरेको छ । मोबाइल सेवा प्रदायक एनसेलले बिना अनुमति ‘अप्टिकल फाईबर’को शीप कनेक्टीभीटी प्रयोग गरी मोबाइल फोन सेवा सञ्चालन गरेको प्राधिकरणको ठहर छ । प्राधिकरण सञ्चालक समितिको हालै बसेको वैठकले एनसेललाई कारबाही गर्ने निर्णय गरेको हो । प्राधिकरणले एनसेललाई ५ लाख रुपैयाँ जरिवाना गराउने र उसले सञ्चालन गरेको उक्त अनाधिकृत सेवा बन्द गराउने निर्णय गरेको सञ्चालक समितिका एक सदस्यले बताए ।

एनसेलले मोबाइल र इमेल तथा इन्टनरेट सेवा सञ्चालनको लागि अनुमति लिएको हो । तर, उसले ‘अप्टिकल फाईबर’को शीप कनेक्टीभीटी प्रयोग गर्दै फोन सेवा सञ्चालन गर्दै आएको भेटिएको उनले बताए । नाम नबताउने सर्तमा उनले भने, ‘विगत डेढ वर्षदेखि अनाधिकृतरुपमा उक्त सेवा सञ्चालन गर्दै आएको पाइयो, अब कानुनअनुसार उसलाई कारबाही हुन्छ ।’ एनसेलले ‘तार रहित’माध्यममा सेवा उपलब्ध गराउनुपर्नेमा ‘तार सहित’को सेवा सञ्चालन गरेको हो । उसले यस्तो सेवा ३४ ओटा कम्पनीलाई दिएको पाइएको प्राधिकरणले जनाएको छ ।

बहुराष्ट्रिय कम्पनी टेलियासोनेराको मुख्य लगानी रहेको एनसेलले १६ भदौं २०६१ मा जीएसएम सेलुलर मोबाईल सेवा सञ्चालनको अनुमति लिएको थियो । तर, उसले करीब डेढ वर्षअघिदेखि ‘अप्टिकल फाईबर’को माध्यमबाट फोन सेवा समेत उपलब्ध गराउँदै आएको भेटिएको हो । एनसेलले ५ माघ २०६२ मा इमेल तथा इन्टरनेट सेवा सञ्चालनको लागि अनुमति लिएको थियो ।

प्राधिकरणले करीब दुई महिनाअघिदेखि एनसेलका सेवाको अनुगमन गरेको थियो । अनुगमनबाट उक्त ‘गल्ति’ भेटिएको प्राधिकरणका एक अधिकारीले बताए । एनसेलले अनाधिकृत सेवा सञ्चालन गरेको स्वीकर गरिसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कारबाहीको व्यहोरासहितको पत्र एनसेललाई मंगलबार नै पठाइएको उनले बताए । ‘हामीले एनसेललाई जरिवाना तिर्न र अनाधिकृत सेवा बन्द गर्न निर्देशन दिदै पत्राचार गरेका छौं,’ उनले भने, ‘एनसेलले गल्ति स्वीकार गरिसकेकाले उक्त सेवा बन्द गर्दै जरिवाना तिर्ने छ ।’

यता एनसेलले पनि प्राधिकरणले पठाएको कारवाही सहितको पत्र हिजै आइपुगेको जानकारी दिएको छ । ‘प्राधिकरले पठाएको पत्र हिजै आइपुगेको छ,’ एनसेलका कर्पोरेट कम्युनिकेशन विज्ञ मिलनमणी शर्माले भने, ‘यस विषयमा कसरी अघि बढ्ने भन्ने वारे एनसेलले पनि आफ्नो साझा धारणा बनाउँदै छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL