Logo

विकसित मुलुकमा नेपाली कामदारको माग बढ्यो, पोल्याण्ड र टर्कीबीच प्रतिस्पर्धा

विकसित मुलुकमा नेपाली कामदारको माग बढ्यो, पोल्याण्ड र टर्कीबीच प्रतिस्पर्धा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय विकसित मुलुकबाट नेपाली कामदारको मागपत्र आउने क्रम बढेको छ । मलेशिया तथा खाडी मुलुकबाट मात्रै नेपाली कामदारको माग आउने गरेकोमा पछिल्लो समय पोल्याण्ड, साइप्रस, मालटा तथा बेलायतबाट समेत नेपाली कामदारको माग आएको बैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

विकसित मुलुकमा कामदार पठाउन म्यानपार कम्पनीले मात्रपत्र ल्याउने क्रम बढेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन् । ‘पछिल्लो समय म्यानपावर व्यवसायीले विकसित मुलुकमा नेपाली कामदार पठाउन मागपत्र ल्याएका छन्,’ उनले भने, ‘उनीहरुले पेश गरेको कागजातको आधारमा हामीले पूर्व तथा अन्तिम स्वीकृति प्रदान गरेका छौं ।’ यस अघि व्यक्तिगत रुपमा रोजगारीमा जाने गरेको जोडर्न, मालटा, मौरिसस, पोर्चुगललगायत विकसित मुलुकबाट पनि संस्थागत रुपमा कामदार माग भएको हो ।

विभागका अनुसार चालू आर्थिक बर्षमा पोल्याण्डबाट सबैभन्दा बढी नेपाली कामदारको माग भएको छ । ३ महिनाको अवधिमा पोल्याण्डबाट ४ हजार ७ सय ४३ नेपाली कामदारको माग भएको छ । म्यानपावर व्यवसायीले पोल्याण्डमा कामदार पठाउन सोहीको संख्यामा पूर्व स्वीकृति समेत लिएका छन् । पोल्याण्डमा सो अवधिमा २ सय ६० जना कामदारले अन्तिम स्वीकृति लिएर रोजगारीमा गईसहेको समेत विभागले जानकारी दिएको छ ।

पोल्याण्ड पछि सबैभन्दा बढी कामदारको माग टर्कीबाट भएको छ । चालू आवको ३ महिनामा टर्कीबाट १ हजार ८ सयभन्दा बढी कामदारको माग भएको छ । सोही अवधिमा म्यानपावर कम्पनीले १ सय ४४ जना कामदार टर्कीको रोजगारीमा पठाएका छन् ।

यसैगरी जोडर्नबाट झण्डै १ हजार ८ सय जना नेपाली कामदारको माग भएको छ भने रसियाबाट १ सय, वेलायतबाट ५०, स्वीडेनबाट १ सय जना कामदारको मागपत्र आएको विभागले जानकारी दिएको छ । हाल विभागबाट कामदार मागपत्रको पूर्व स्वीकृति लिएपनि सबै कामदार तत्काल पठाउन भने नसक्ने अधिकारी बताउँछन् । ‘अहिले विभागबाट मागपत्र ल्याएको आधारमा पूर्व स्वीकृति लिएको मात्र हो,’ उनले भने, ‘पूर्व स्वीकृति लिएका सम्पूर्ण कामदार तत्काल रोजगारीमा जान्छन भन्ने छैन ।’ पूर्व स्वीकृतिको म्याद ३ बर्ष हुने र सोही अबधिभित्र म्यानपावर कम्पनीले कामदार पठाउन सक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL