Logo

वैदेशिक रोजगार संघमा विवाद बढेपछि कार्यवाहक दिएर अध्यक्षबाट बाहिरिए रोहन गुरुङ, चुनावी मिति सार्ने तयारी

वैदेशिक रोजगार संघमा विवाद बढेपछि कार्यवाहक दिएर अध्यक्षबाट बाहिरिए रोहन गुरुङ, चुनावी मिति सार्ने तयारी



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले प्रथम उपाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर बाहिरिएका छन् । पछिल्लो समय संघमा विवाद बढेसँगै अध्यक्ष गुरुङले संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनालाई कार्यबाहकको जिम्मेवारी दिएर बाहिरिएका हुन् ।

संघमा उनी प्रतिनिधित्व गरेको संस्था नेपाल प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च तथा उनी सम्बद्ध राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय दबाब दिएका कारण पनि कार्यकाल सकिन छोटो समय बाँकी हुँदा कार्यबाहकको जिम्मेवारी दिएका बाहिदिएका सम्बद्ध स्रोतको भनाई छ ।

उनी सम्बद्ध प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चले अहिलेको अवस्थामा चुनाव गराउन नहुने भन्दै तत्काल चुनावी मिति घोषणा नगर्न दबाब दिँदै आएको थियो । तर, अध्यक्ष गुरुङले कुनै पनि संघसंस्था कानुन सम्मत चल्नुपर्ने भन्दै यही असार २७ गतेका लागि चुनावी मिति तय गरेको थियो । तर, पछिल्लो समय मञ्चले चुनावी मिति सार्न दबाब दिने तथा अहिलेकै अवस्थामा चुनावमा भाग नलिनेजस्ता चेतावनी दिएपछि उनले प्रथम उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएर संघबाट पन्छिएका हुन् ।

संघले यस अघि चैतमा चुनाव गर्ने मिति तय गरेको थियो । तर, तत्कालिन समयमा अध्यक्ष गुरुङको घरमा विप्लव समुहले बम विस्फोट गराएसँगै उक्त मिति सरेको थियो । उनले दोस्रो पटक चुनावी मिति तोकेर पुनः आफैले सार्न नैतिक संकट पर्ने भएकाले पनि कार्यबाहकको जिम्मेवारी दिएर बाहिरिएका एक व्यवसायीले जानकारी दिए ।

म्यानपावर व्यवसायीको धरौटीको विषयमा संघले केही गर्न नसकेको भन्दै उनी माथी आरोप लागेको थियो । तर, उनले उक्त आरोपलाई चिर्दै धरौटीको विषयमा लागेको आरोपलाई चिर्दै आफुसम्बद्ध दलको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट विरुद्ध आन्दोलनमा उत्रिएका थिए । सो विषयमा पनि आफु सम्बद्ध राजनीतिक दलबाट दबाब खेप्दै आएका थिए ।

अध्यक्ष गुरुङ भने आफु केही समय काठमाडौं बाहिर रहने भएकाले प्रथम उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिए बसेको जानकारी दिएका छन् । ‘म केही समय बाहिर जाँदैछु,’ उनले भने, ‘त्यसैले सो समयका लागि प्रथम उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएर बसेको छु ।’

यसैगरी कार्यवाहकको जिम्मेवारी पाएका संघका प्रथम उपाध्यक्ष भान्तनाले भने उनको कार्यकाल सकिन लागेका आजैका मितिदेखि कार्यकाहकको जिम्मेवारी दिएर विदामा बसेको जानकारी दिएका छन् । साथै पछिल्लो समय चुनावको विषयलाई लिएर देखिएको असन्तुष्टीको विषयमा संघको यसैहप्ता बस्ने बैंठकले तय गर्ने समेत उनले जानकारी दिए ।

चुनावकै विषयलाई लिएर असन्तुष्टी देखिएका कार्यसमितिको बैठकले चुनावी मिति सार्न सक्ने समेत उनले जानकारी दिए ।

यस अघि संघका महासचिव नरेश गेलालले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनको स्थानमा मञ्चका संस्थापक अध्यक्ष सरोज पोखरेललाई नियुक्त गरिएको छ । पोखरेल अब हुने संघको निर्वाचनमा मञ्चकोतर्फबाट अध्यक्षको उम्मेदवार बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL