Logo

वाणिज्य बैंकमा जागिर : ८३६ जनाको कोटामा १ लाख २२ हजारको आवेदन

वाणिज्य बैंकमा जागिर : ८३६ जनाको कोटामा १ लाख २२ हजारको आवेदन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आह्वान गरेको ६ पदका लागि १ लाख बढिले आवेदन दिएका छन् । बैंकले आह्वान गरेको आवेदनमा मंसिर ५ गते आइतबारसम्म १ लाख २२ हजारले आवेदन दिएका हुन् । बैंकले कात्तिक १५ गतेदेखि विभिन्न ६ पदका लागि ८ सय ३६ जना कर्मचारीका लागि आवेदन माग गरेको थियो । मंसिर ५ गतेसम्म सिंगल दस्तुर र अबका ७ दिन अर्थात मंसिर १२ गतेसम्म भने दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिन्छ ।

बैंकका अनुसार मंसिर ५ गतेसम्म १ लाख २२ हजार जना आवेदकले फाराम भरेका छन् । दोब्बर दस्तुरमा फाराम भर्नेको संख्या करिब ३ हजार जति हुनसक्ने आँकलन बैंकले गरेको छ । बैंकले प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मका लागि रोजगारी दिने भएको हो । उक्त आह्वानमा हालसम्म बरिष्ठ प्रबन्धकका लागि ६३ जना, तह ९ को प्रबन्धकमा ६७ जना, तह ७ को उपप्रबन्धक पदमा ५५ जनाले आवेदन दिएका छन् ।

कुन पदमा कतिले फाराम भरे ?

  • तह ९ को वरिष्ठ प्रबन्धकमा ६३ जना,
  • तह ८ को प्रबन्धकमा ६७ जना,
  • तह ७ को उप–प्रबन्धकमा ५५ जना,
  • तह ७ को उप–प्रबन्धकमा (लेखा) १०२ जना,
  • तह ६ को सहायक प्रबन्धकमा ५ हजार ६२५ जना,
  • तह ६ को सहायक प्रबन्धक (कानुन) मा १५ जना,
  • तह ६ को सहायक प्रबन्धक (सूचना प्रविधि) १२५ जना,
  • तह ६ को सहायक प्रबन्धक (नगद) ६१७ जना,
  • तह ५ को वरिष्ठ सहायकमा २४ हजार ५५८ जना,
  • तह ५ को वरिष्ठ सहायक (कानुन) १७३ जना,
  • तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधि) १०४३ जना,
  • तह ४ को सहायकमा ६५ हजार २८८ जना,
  • तह ४ को सहायक (नगद) मा १७ हजार ३२० जना‘

बैंकले नवौं तहका लागि प्रशासनतर्फ बरिष्ठ प्रबन्धक २ जना, आठौं तहको प्रबन्धक पदका लागि ६ जना, सातौं तहको उप प्रबन्धक प्रशासन र लेखा पदका लागि १९ जना, छैटौं तहको सहायक प्रबन्धक २ सय जना, सहायक प्रबन्धक (कानुन) ६ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) १५ जना, सहायक प्रबन्धक (नगद) १५ जना गरी कूल २३६ जना कर्मचारी मागेको छ ।

त्यस्तै, बैंकले पाचौं तहको वरिष्ठ सहायक पदका लागि १७९ जना, वरिष्ठ सहायक (नगद) का लागि ३२ जना, वरिष्ठ सहायक (कानुन) पदका लागि १० जना र वरिष्ठ सहायक (सूचना प्रविधि) पदका लागि ४४ जना गरी कूल २६५ जना र चौथों तहको सहायक पदका लागि २४५ जना र सहायक (नगद) पदका लागि ६३ जना गरी कूल ३०८ जना कर्मचारी मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL