Logo

असंगठित क्षेत्रका कामदारहरुको लागि भारतले शुरु गर्यो ‘ई–श्रम’ पोर्टल, लाखौं नेपाली लाभान्वित हुने

असंगठित क्षेत्रका कामदारहरुको लागि भारतले शुरु गर्यो ‘ई–श्रम’ पोर्टल, लाखौं नेपाली लाभान्वित हुने



काठमाडौं । भारतको केन्द्रीय सरकारले असंगठित क्षेत्रहरुमा काम गर्ने मानिसहरुको लागि एक डाटाबेस निर्माण गर्न ‘ई–श्रम पोर्टल’ नामक एक पोर्टल सुरु गरेको छ । जसले उनीहरुको सबै जानकारी अपडेट राख्नेछ । पोर्टल आजदेखि सुरु भएको हो ।

ई–श्रम पोर्टल शुरू भएपछि असंगठित क्षेत्रअन्तर्गत कामदारहरु सरकारद्वारा प्रदान गरिएका सबै सामाजिक सुरक्षा योजनाहरुको लाभ प्राप्त गर्न सक्षम हुने बताइएको छ । यसअघि मंगलबार (अगस्त २४) मा केन्द्रीय श्रम तथा रोजगार मन्त्री भूपेन्द्र यादवले ई–श्रम पोर्टलको लोगो सार्वजनिक गरेका थिए ।

केन्द्रीय सरकारले यस कार्यक्रमअन्तर्गत असंगठित क्षेत्रका ३८ करोड कामदारहरुलाई दर्ता गर्ने लक्ष्य राखेको छ । निर्माण मजदुरहरु, प्रवासी कामदारहरु, सडक विक्रेताहरु र घरेलु कामदारहरु लगायत यसमा समावेश हुन सकनेछन् ।

ई–श्रम पोर्टल को सुरुवातापछि असंगठित क्षेत्रका कामदारहरुले आफ्नो दर्ता गर्न सक्नेछन् । उनीहरुलाई आफ्नो आधार कार्ड नम्बरसहित अन्य आवश्यक विवरण जस्तै जन्ममिति, गृहनगर, मोबाईल नम्बर र सामाजिक अवस्थाबारे दर्ता गर्ने व्यवस्था गरिएको छ । एकपटक दर्ता भएपछि उनीहरुलाई ई–श्रम कार्ड जारी गरिनेछ । कार्ड बाह्र डिजिटको नम्बर र कामदाको विवरणसहितको हुनेछ ।

यस पोर्टलको उद्देश्य अन्य क्षेत्रबाट लाभ उठाउन नसकेका वर्गहरुलाई सरकारको सामाजिक सुरक्षा योजनाबाट सहयोग पुर्याउनु रहेको बताइएको छ । यो कार्ड सबै कुराको लागि उपयोग गर्न सकिने एक कार्डको रुपमा रहने बताइएको छ ।

हाल भारतमा ठूलो संख्यामा नेपालीहरु असंगठित क्षेत्रमा काम गरिरहेका छन् । भारतमा हाल कति नेपालीले काम गरिरहेका छन् भन्ने यकिन नभएपनि ५० लाख हाराहारीमा कामदारहरु रहेको बताइएको छ । तीमध्ये धेरै नेपाली कामदारहरु असंगठित र ज्यालादारी काम गरिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL