Logo

९ महिनामा १० खर्ब नजिक पुग्यो ब्यापारघाटा, निर्यात ७० अर्बमा सिमित

९ महिनामा १० खर्ब नजिक पुग्यो ब्यापारघाटा, निर्यात ७० अर्बमा सिमित



काठमाडौं । सरकारले आन्तरिक उत्पादन वृद्धि गर्ने बताईरहँदा व्यापार घाटा भने उच्च रुपमा बढ्न पुगेको छ । कृषि प्रधान देश नेपालमा दाल चामल तथा तरकारी कै आयात बढ्दा त्यसको प्रभाव व्यापार घाटा वृद्धिमा देखिएको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा ब्यापारघाटा १० खर्ब नजिक पुगेको छ । सरकारले निर्यात प्रवद्र्धनको नारा लगाईरहँदा पनि बाह्य बस्तुको अधिक खपत र निर्यातमा कमीका कारण चालु आर्थिक बर्षको ९ महिनामै ब्यापारघाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको ९ महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा ब्यापारघाटा २१ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिमा नेपालबाट कुल ६९ अर्ब ८२ करोड बराबरको बस्तु निर्यात भएकोमा १० खर्ब ६१ अर्ब बराबरको बस्तु भने आयात भएको देखिन्छ । गत आबको तुलनामा नेपालबाट निर्यात हुने बस्तु १६ दशमलव ९ प्रतिशतले वृद्धि हुँदा आयात भने २१ दशमलव ३ प्रतिशतले बढेको छ ।

चालु आबको ९ महिनामा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा लगायतका सामानहरुको आयात उच्च रुपमा बढेको छ । तर सोही अबधिमा सिमेन्ट, दूरसंचारका सामग्रीहरु लगायतका बस्तुहरुको आयात घटेको देखिन्छ । यस्तै सो अवधीमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, उनी गलैँचा लगायतका सामग्रीको निर्यात बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL