Logo

आन्तरिक राजस्व कार्यालयको लक्ष्य भन्दा बढी राजस्व संकलन, १० महिनामा उठ्यो पौने ४ अर्ब

आन्तरिक राजस्व कार्यालयको लक्ष्य भन्दा बढी राजस्व संकलन, १० महिनामा उठ्यो पौने ४ अर्ब



काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म ३ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । वैशाख मसान्तसम्म ३ अर्ब ६६ करोड ८८ लाख संकलन गर्ने लक्ष्य रहे पनि उक्त कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।

कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा १७ करोड ९५ लाख रुपैयाँबढी राजस्व संकलन भएको जानकारी दिँदै वैशाख महीनामा मात्रै ६६ करोड रुपैयाँ राजस्व संकलन भएको बताएका छन ।

उक्त कार्यालयले आव २०७४/७५ मा ४८ करोड २४ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवसम्म करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय यही वर्षबाट आन्तरिक राजस्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङका व्यवसायीलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले ४ ओटै जिल्लामा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन । उनका अनुसार चालू आवमा मनाङको चामे, धारापानी, पिसाङ, तनहुँको भिमाद, खैरेनीटार र लमजुङ र गोरखाका विभिन्न स्थानमा कर सचेतना कार्यक्रम गरिएको थियो ।

समय–समयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारवाही प्रक्रियामा ल्याउनेलगायतका कामलाई अगाडि बढाइएको र कर तिर्ने वातावरण सिर्जना गर्ने काम पनि भइरहेको सेढाईंले जानकारी दिएका छन /रासस

प्रतिक्रिया दिनुहोस्
MBL