Logo

स्किममा पनि देखिएन ‘ननफाइलर’ करदाताको उत्साहजनक सहभागिता, एकतर्फी कम्पनी खारेज गर्दै विभाग

स्किममा पनि देखिएन ‘ननफाइलर’ करदाताको उत्साहजनक सहभागिता, एकतर्फी कम्पनी खारेज गर्दै विभाग



काठमाडौं । सरकारले ननफाइलर (आयविवरण नबुझाएका) करदातालाई करमा सहभागिता जनाउन नयाँ स्किम ल्याएपनि उत्साहजन सहभागिता देखिएन । सरकारले बजेटमार्फत २०७१ सालभन्दा अघिका ननफाइलर करदातालाई करमा सहभागिता जनाउन विभिन्न प्रकारका छुटको ‘स्किम’ ल्याएपनि करदाताले सोही अनुरुप सहभागिता नजनाएको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुङ्गेलले जानकारी दिए ।

विभागले कर फछ्र्यौट गर्न भ्याटमा दर्ता भई २०७४ असार मसान्तसम्म आय विवरण पेश नगरेका करदातालाई आफ्नो फर्मको अध्यावधिक गरी छुट लिनका लागि २०७५ पुस मसान्तसम्मको समय दिएको थियो । तर, उक्त समयावधि सकिन १ दिन मात्र बाँकी रहँदा ४ देखि ५ हजार करदाताले मात्र सहभागिता जनाएको ढुङ्गेलले जानकारी दिए । ‘२०७१ भन्दा अघिका मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका ननफाइलर करदाता ३० हजार छन् त्यसमध्ये ५० प्रतिशतले उक्त स्किममा सहभागिता जनाउछन् भन्ने अपेक्षा लिएका थियौं,’ उनले भने, ‘ननफाइलरलाई करको दायरामा आएर आय विवरण बुझाउन विभागले स्किम ल्याएपनि सोचेअनुरुप सहभागिता जनाएनन् ।’

हालसम्म सो संख्या एकदमै न्युन रहेपनि आईतबार र सोमबारमा स्किममा सहभागित जनाउने करदाताको संख्यामा केही वृद्धि हुने ढुङ्गेलले जानकारी दिए । ‘विभागको जनाकारीमा आएसम्म विभिन्न कर कार्यालयहरुमा स्किम लिन चाहने ननफाइलर करदाताको एकदमै भीड छ,’ उनले भने, ‘कति ननफाइलर करदाताले सहभागिता जनाएभन्ने ३/४ दिन पछि मात्र थाहा हुनेछ ।’ उनकाअनुसार हालसम्म भ्याटमा दर्ता भएका ५५ हजारभन्दा बढी ननफाइलर करदाता रहेका छन् ।

विभागले २०७१ भन्दा अघिका ननफाइलर करदातालाई पुस मसान्तसम्ममा ०७४ असार सम्मको कर र विवरण बुझाएमा त्यसमा लाग्ने जरिवाना र ब्याज छुट पाउने व्यवस्था गरेको थियो । स्किमअनुसार आर्थिक बर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ कोे आय विवरण पुस मसान्तसम्म बुझाएमा सोभन्दा पहिलेको विवरण बुझाउनु नपर्ने र त्यसमा लाग्ने जरिवाना तथा अन्य विलम्व शुल्क समेत तिर्न पर्ने गरी स्किम ल्याएको थियो ।

अबका दिनमा विभागले ल्याएको स्किममा नआएका करदातालाई एकतर्फी रुपमा खारेज गरिने समेत ढुङ्गेलले जानकारी दिए । ‘यस अघि पनि विभागले ननफाइलरका लागि विभिन्न स्किम ल्याएको थियो तर कम्पनी नै खारेज गर्छौ भनेका थिएनौं,’ उनले भने, ‘तर, यसपटक भने त्यस्ता करदाताको दायित्व निर्धारण गर्दै कम्पनी खारेज गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL