Logo

एफएनसीसीआईले प्रधानमन्त्रीलाई भेटेर भन्यो, सरकारले लगानीको वातावरण बनाउन सकेन

एफएनसीसीआईले प्रधानमन्त्रीलाई भेटेर भन्यो, सरकारले लगानीको वातावरण बनाउन सकेन



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लगानीको वातावरण बनाईदिन आग्रह गरेको छ । देशमा दुई तिहाईको सरकार आउदा पनि देशमा औद्योगिक वातावरण बन्न नसकेको भन्दै महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरी गुनासो गरेका हुन् ।

भेटमा महासंघका अध्यक्ष राणाले दुई तिहाईको सरकार आएपछि नयाँ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने अपेक्षा निजी क्षेत्रले गरेकोमा त्यसको महशुस हुन नसकेको बताईन् ।

अध्यक्ष राणाले प्रधानमन्त्रीले अगाडी सारेको समृद्धि नेपाल सुखी नेपालीको अभियानलाई साकार बनाउन महासंघको प्रतिवद्धता रहेको बताउँदै सोका लागि निजी क्षेत्रको लागि लगानीको वातावरण बनाईदिन आग्रह गरिन् । ‘प्रधानमन्त्रीले यसअघि दिनु भएको निजी क्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने आश्वासनलाई छिटो पूर्णता दिनुपर्छ,’ उनले भनिन्। ‘स्थानीय तहमा दोहोरो तेहोरो करको समस्यालाई संवोधन गरी एकिकृत कर प्रणाली लागू गर्न, कर प्रणालीमा सुधार गर्न, कालो बजारी ऐन लगायतका पुराना ऐन कानूनहरूलाई पुनरलेखन, शंसोधन र परिमार्जन गर्नुपर्छ ।’

सरकारका तर्फबाट उत्पादकत्व अभिवृद्धि गर्ने, लगानी आकर्षण गर्ने खालका “स्टीमुलस प्याकेज” घोषणा गर्न समेत उनले आग्रह गरिन । अध्यक्ष राणाले प्रादेशिक सरकार र निजी क्षेत्र हातेमालो गरी आर्थिक विकास गर्न महासंघ र प्रदेश सरकारबीच सहमती समेत भएको स्मरण गराउदै महासंघले सातै प्रदेशमा आयोजना गरेको प्रादेशिक आर्थिक वहसबाट आएका निष्कर्श समेतलाई समेटेर केन्द्रमा संघीय सरकारलाई सुझाव पेश गर्ने कार्यक्रम समेत रहेको जानकारी गराईन् ।

उक्त भेटमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकालले औद्योगिक विस्तार सहित रोजगारी सृजना र व्यापार घाटा कम गर्ने रणनीतिक योजना ल्याउनु पर्ने, उद्योगी व्यवसायीका समस्या र गुनासा सुन्ने स्थायी संयन्त्र निर्माण गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले महासंघसँगको भेटवार्ता महत्वपूर्ण रहेको बताउँदै देशमा उद्योग व्यवसायको विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले पुराना ऐन कानूनहरूमा कहाँ, के संसोधन, पुनरलेखन, परिमार्जन आवश्यक छ सुझाव दिन समेत निजी क्षेत्रलाई अनुरोध गर्दै ती सुझावहरूलाई आफूले तत्काल कार्यान्वयन गर्ने विश्वास समेत दिलाएका छन् ।

मुलुकलाई समृद्धितर्फ लैजान पर्याप्त आधार र स्रोतहरू मुलुकभित्रै रहेको बताउँदै प्रधानमन्त्री ओलीले विशाल छिमेकी देशहरूको बीचमा रहेको नेपालका लागि बजार तथा लगानीको समेत अभाव नहुने धारणा व्यक्त गरे । निजी क्षेत्रलाई अर्थतन्त्रको विकासमा अगाडी बढ्न आग्रह गर्दै सुविधा दिन सरकारले कुनै कन्जुस्याई गर्दैन, तपाईहरू उद्योग व्यवसाय बढाउनुहोस, लगानी ल्याउनुहोस के सहयोग चाहिन्छ खोजेको सहयोग गर्न सरकार तयार भएको आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL