Logo

गत बर्ष आयात र निर्यात दुबै ओरालो लागे, व्यापार घाटामा १६ प्रतिशतको गिरावट

गत बर्ष आयात र निर्यात दुबै ओरालो लागे, व्यापार घाटामा १६ प्रतिशतको गिरावट



काठमाडौं । गत आर्थिक बर्ष नेपालमो वैदेशिक व्यापारघाटा १६ प्रतिशतले घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षभरीको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १६ दशमलव ७१ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको छ । गत आर्थिक बर्षभरी आयातमा गिरावट र निर्यातमा वृद्धि हुँदा नेपालको व्यापारघाटामा उल्लेख्य सुधार भएको छ ।

अघिल्लो आर्थिक वर्ष नेपालको व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको थियो । यस्तै पछिल्लो समय विश्वभर फैलिएको लकडाउनका कारण भने निर्यातको व्यापार शुन्य दशमलव ९८ प्रतिशतले घटेको छ । आर्थिक बर्षभरी प्रत्येक महिना १० प्रतिशतभन्दा माथिको वृद्धिदर समातेको नेपालको निर्यात व्यापार गत बर्षभरीको तुलनामा भने आरालो लागेको भन्सार विभागले जानकारी दिएको छ ।

यस्तै गत आर्थिक वर्षमा नेपालले कुल १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा १५ खर्ब १५ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । गत वर्ष वैदेशिक व्यापार व्यापार १४ दशमलव ६९ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयातमा आयातमा १५ दशमलव ६३ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको सुरुदेखि नै घट्दै आएको आयात कोरोना भाइरससँगै भएको लकडाउनले अझ घटाएको हो । गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको मालवस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा कुल १४ खर्ब १८ अर्ब ५३ करोडको मालवस्तु आयात भएको विभागको भनाई छ ।

विश्वभर फैलिएको कोरोना भाईरसका कारण भएको लकडाउनका कारण आयातजस्तै निर्यात पनि केही खुम्चिएको विभागको तथ्यांकमा उल्लेख छ । लकडाउन अघिसम्म आयात घट्दै गएको थियो भने निर्यात बढ्ने क्रममा थियो ।

लकडाउन पछि भने निर्यात व्यापार पनि घटेको छ । गत आर्थिक वर्षमा निर्याततर्फको व्यापारमा पनि सुस्तता आएको छ । आर्थिक वर्षमा कुल ९७ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । गत आवमा ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

आर्थिक वर्षको अन्त्यसम्ममा कुल वैदेशिक व्यापारमा ९२ दशमलव ५६ प्रतिशत आयातको हिस्सा र ७ दशमलव ४४ प्रतिशत निर्यातको हिस्सा छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म आयातको हिस्सा ९३ दशमलव ५९ प्रतिशत र निर्यातको ६ दशमलव ४१ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL