Logo

एकल विन्दु सेवा केन्द्रमार्फत ८ दिनमा ४४ अर्बको लगानी प्रतिवद्धता, उद्योगीमा बढ्यो रौनक

एकल विन्दु सेवा केन्द्रमार्फत ८ दिनमा ४४ अर्बको लगानी प्रतिवद्धता, उद्योगीमा बढ्यो रौनक



काठमाडौं । उद्योग दर्ताका लागि एकल विन्दु सेवा केन्द्र संचालनमा आएपछि उद्योग दर्ताको क्रम ह्वात्तै बढेको देखिन्छ । उद्योग विभागका अनुसार साना, मझौता ठुला गरी केन्द्र संचालमा आएको ८ दिनमै केन्द्रमार्फत ४४ अर्ब बराबरका २० ओटा नयाँ उद्योगमा लगानीको प्रतिवद्धता आएको छ । उक्त केन्द्र संचालनमा आएदेखि हालसम्म केन्द्रका विभिन्न ईकाईमार्फत सेवा लिने सेवाग्राहीको संख्यामा वृद्धि हुँदै आएको उद्योग विभागले जानकारी दिएको छ ।

laxmi

उद्योग दर्तादेखि खारेजीसम्मको काम एकै स्थानमा हुने भएपछि उद्योग दर्ता गर्न तथा विभिन्न कार्य गर्न हाल धेरै सजिलो भएको लगानीकर्ताहरुले बताएका छन छन । यससँगै अघिल्लो महिना अर्थात बैशाखको १ गतेदेखि ८ गतेसम्म विभागमार्फत १ अर्ब ७८ करोड बराबरका ८ ओटा मात्रै उद्योगमा लगानीको प्रतिवद्धता आएकोमा जेठ १ गतेदेखि एकल विन्दु सेवाकेन्द्र संचालनमा आएपछि भने जेठको ८ गतेसम्म ४४ अर्ब ५३ करोड बराबरका २० ओटा उद्योगमा लगानीको प्रतिवद्धता आएको हो ।
उद्योगमा लगानी भित्र्याउन सहज वातावरणको निर्माण गर्नका लागि सरकारले एकल विन्दु सेवाकेन्द्र जेठ १ गतेदेखि संचालनमा ल्याएको हो । उक्त केन्द्रमा रहेका विभिन्न १२ ईकाईमार्फत उद्योग संचालन तथा अन्य विभिन्न कार्यहरु गर्नका लागि सहजीकरणको काम हुँदै आएको छ ।
यसअघि कुनै उद्योग दर्ता गर्नका लागि राष्ट्र बैंक, भन्सार विभाग लगायतका विभिन्न स्थानमा धाउनुपर्ने अवस्था उक्त केन्द्र संचालनमा आईसकेपछि अन्त्य भएको छ ।

केन्द्रबाट हाल कम्पनी, फर्म, उद्योग दर्ता, अनुमती, ईजाजत, स्थापना, नवीकरण, क्षमता वृद्धि, बहिर्गमन लगायतका कार्यहरु गर्ने काम भईरहेको छ । केन्द्र संचालनमा आएको २ ३ दिनसम्म उद्योगीहरुको रौनक त्यती नभएपनि हाल भने उक्त केन्द्रबाट सेवा लिने उद्योगीको संख्या बढ्दै गएको विभागका प्रवक्ता जिवन सेढाईले जानकारी दिए । उनका अनुसार केन्द्रको बारेमा राम्रो ज्ञान तथा प्रचार नहुँदा उद्योगीहरुको आकर्षण कमै थियो तर हाल यसको बारेमार प्रचार बढेर हो या उद्योगीहरुले चाल पाएर हो यसमा आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL