Logo

औषधी उद्योगका समस्या पहिचान गर्न कार्यदल गठन, १५ दिनमा प्रतिवेदन बुझाउने

औषधी उद्योगका समस्या पहिचान गर्न कार्यदल गठन, १५ दिनमा प्रतिवेदन बुझाउने



काठमाडौं । सरकारले नेपालमा उत्पादन हुने औषधी उद्योगहरुको समस्या पहिचान गर्नका लागि कार्यदल गठन गरेको छ । उद्योग मन्त्रालयले औषधिमा आत्मनिर्भर हुनका लागि उद्योग मन्त्रालय, उद्योग विभाग तथा औषधी व्यवस्थापन विभागसहितका पदाधिकारीहरुको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।

औषधीमा नेपाललाई आत्मनिर्भर बनाउनका लागि आगामी बजेट अगाडि नै यसका समस्या पहिचान गर्न उक्त कार्यदल गठन गरिएको उद्योग सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार नेपाललाई केही प्रकारका औषधीमा आत्मनिर्भर बनाउनका लागि समस्या र समाधान पहिचान गर्नका लािग कार्यदल गठन गरिएको हो । ‘उद्योग विभागका महानिर्देशकका संयोजकत्वमा कार्यदल गठन गरिएको छ,’ उनले भने, ‘उक्त कार्यदलले यस क्षेत्रका समस्या पहिचान गरेर मन्त्रालयमा सिफारिस गर्नेछ ।’

नेपालमा हाल ७ हजारभन्दा बढी प्रकारका औषधी उत्पादन हुने भएपनि सोही अनुसार आत्मनिर्भर हुने नीतिमा सरकारले ध्यान नदिँदा औषधिमा आत्मनिर्भर हुन नसकिएको औषधि उत्पादकहरुको गुनासो रहँदै आएको छ ।

हाल नेपालमा ७ हजार ७ सय २७ ब्राण्डका औषधीहरु उत्पादन भईरहेका छन । तर, छिमेकी मुलुकबाट हाल ९ हजार ४ सय ३५ ब्राण्डका औषधीहरु आयात भईरहेको औषधि व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ । सरकारले गत बर्षको बजेटमै नेपाललाई केही औषधिमा आत्मनिर्भर हुने नीति लिएको थियो ।

सोहीअनुसार हाल ६० प्रतिशत औषधी ले नेपाली बजार धानेको बताईएपनि वास्तविक हिस्सा पत्ता लगाउने र यसका समस्याहरुका समाधानका लागि पनि अध्ययन गरिने उद्योग विभागका महानिर्देशन तथा कार्यदलका संयोजक जीवनप्रकाश सिटौलाले जानकारी दिए । उनका अनुसार उक्त कार्यदलमा मन्त्रालयका सचिव, औषधी व्यवस्था लिमिटेडका महानिर्देशक, नेपाल उद्योग परिसंघका पदाधिकारी तथा औषधि उद्योगीहरु रहेका छन ।

मन्त्रालयले १५ दिनमा प्रतिवेदन बुझाउन म्याद दिएको समितिले चाँडै काम सुरु गर्ने उनको भनाई छ । कार्यदलले हालसम्मको औषधि उत्पादनको अवस्था, यसका समस्या, समाधान, आत्मनिर्भर हुने सूचकलगायतका विषयमा अध्ययन गर्नेछ । हाल नेपालमा ५५ ओटा औषधी उद्योगहरुले विभिन्न प्रकारका औषधीहरु उत्पादन गरिरहेका छन् । जसमा २५ अर्बभन्दा बढीको लगानी छ ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसका कारण विश्व अर्थतन्त्रमा केही असर परेको छ । जसको असर नेपालमा पनि परेको छ । विश्वमा कोरोनाको कहर बढिरहेको बेला नेपालमा भने अत्यावश्यक बस्तु अभावको आशंका गरिएको छ । जसमा औषधी पनि परेको छ ।

सरकार तथा औषधीका सरोकारवालाहरुले हाल नेपालमा औषधीको अभाव नभएको बताएका छन् । तर, यही मौकामा औषधीमा आत्मनिर्भर हुनका लागि भन्दै सरकारले समस्या पहिचान गर्नका लागि कार्यदल गठन गरेको हो । उक्त कार्यदलले सिफारिस बुझाएपनि सरकारल आगामी बजेटमा उक्त समस्याहरुको सुनुवाई गर्ने नीतिगत सुधार गर्नुपर्ने भए सोहीअनुसार गर्ने सचिव घिमिरेले बिजखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL