Logo

बार्षिक २० अर्बको फर्निचर खपत, स्वदेशी उत्पादन ५० प्रतिशतमात्र

बार्षिक २० अर्बको फर्निचर खपत, स्वदेशी उत्पादन ५० प्रतिशतमात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा हाल बार्षिक २० अर्ब रुपैयाँ बराबरको फर्निचर तथा फर्निसिङ सामग्री खपत हुने गरेको छ । जम्मा खपतको ५० प्रतिशत स्वदेशी र अन्य विदेशी रहेको फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार हाल १० अर्ब रुपैयाँ बराबरको फर्निचर आन्तरिक रुपमा उत्पादन हुदै आएको छ ।

नेपाल फर्निचर तथा फर्निसिग व्यवसायी महासंघको शनिबार राजधानीमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन कार्यक्रमको उदघाटनमा यस्तो जानकारी दिइएको हो । नेपालमा चीन, भारत, सिंगापुर, मलेसियालगायतका देशबाट यस्ता सामग्री आयात गरिने व्यवसायीहरुले जानकारी दिएका छन् ।

साधारण सभाको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फर्निचर तथा फर्निसिंगमा भएरको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई बढावा दिनुपर्ने बताए । यसका लागि लगानीको वातावरण वनाउन बैंकले न्युनतम व्याजदरमा उद्योगी व्यवसायीलाई कर्जा दिनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग रहेकोले यस क्षेत्रको विकास गरेमा फर्निचर खरिदका लागि बाहिरिने अर्बौ रुपैयाँ देशमै राख्न सकिने बताए । नेपाली फर्निचर व्यवसाय विदेशी फर्निचरसँगको प्रतिस्पर्धामा उत्रन सक्ने अवस्था बनाउन स्वदेशी व्यवसाय प्रवद्र्धन गर्नु निकै आवश्यक रहेको उनले बताए ।

देशका मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सीमित व्यवसायलाई बिस्तार गर्दै लैजानु आवश्यकता कार्यक्रममा गरिएको थियो । महासंघका अनुसार सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाडौं उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् ।

देशभर हजारौं परिवारले घरेलु उद्योगको रुपमा फर्निचर व्यवसाय संचालन गरी जीविकोपार्जन गर्दै आए पनि संगठित भने हुन नसकेको वयवसायीहरुको गुनासो छ ।

त्यसैले फर्निचर व्यवसायलाई उद्योगको रुपमा विकास गर्न आवश्यक सीप तथा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको उनीहरुले बताए । साथै विदेशी प्रविधि नेपाल भित्राउन सरकारले पनि पहल गर्नुपर्ने जानकारी दिइएको छ ।

कार्यक्रममा ग्रील व्यवसायी संस्था नेपालका अध्यक्ष मोहन कटुवाल, महासंघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र गिरी, महासचिब सुजिल श्रेष्ठलगायतले नेपाली बजारमा फर्निचर तथा फर्निसिङको माग बार्षिक रुपमा बढ्दै गए पनि नेपाली घरेलु व्यवसायले यसलाई धान्न सक्ने अवस्था नरहेको बताएका थिए । साथै नेपालका अधिकांश फर्निचर उद्योग शहरी क्षेत्र, त्यसमा पनि काठमाडौं केन्द्रित रहेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL