Logo

गत बर्ष ५३ अर्ब ७० करोडको वैदेशिक लगानी : सेवा क्षेत्रमा आकर्षण, भारतीय लगानीमा गिरावट

गत बर्ष ५३ अर्ब ७० करोडको वैदेशिक लगानी : सेवा क्षेत्रमा आकर्षण, भारतीय लगानीमा गिरावट



काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षको साउन १ देखि असार ३० सम्म २९१ परियोजनामार्फत ५३ अर्ब ७० करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

विभागका अनुसार अघिल्लो आर्थिक बर्ष २०७७÷७८ को तुलना गत आवमा बैदेशिक लगानी झण्डै ६० प्रतिशतले बढेको छ । अर्थात अघिल्लो आर्थिक बर्ष १ सय ८४ परियोजनामार्फत नेपालमा ३२ अर्ब ७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । गत आर्थिक बर्षमा विदेशी लगानी धेरै आउने क्षेत्रमा सेवा क्षेत्र परेको छ ।

बर्षभरी यो क्षेत्रका ९७ परियोजनामार्फत २३ अर्ब ६९ करोड २ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ । यो गत आवमा आएको कुल लगानी प्रतिवद्धताको ४४ प्रतिशत हो । अर्थात नेपालमा आएको कुल वैदेशिक लगानीको करिव आधा हिस्सा सेवा क्षेत्रले नै ओगटेको देखिन्छ । गत आर्थिक बर्ष यो क्षेत्रमा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रस्ताव आएको थियो ।

यस्तै गत आर्थिक बर्षभरी दोस्रो धेरै विदेशी लगानी आकर्षित गर्ने क्षेत्रमा पर्यटन क्षेत्र छ । यो क्षेत्रमा आवमा १ सय २४ परियोजनामार्फत १९ अर्ब २५ करोड १५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आवमा आएको कुल लगानीको ३५.८४ प्रतिशत हुन आउँछ । अर्थात गत आवभर आएको वैदेशिक लगानी प्रतिवद्धतामध्ये करिव ८० प्रतिशत हिस्सा त पर्यटन र सेवा क्षेत्रकै छ ।

यस्तै बाँकी रहेको लगानीमध्ये कुल लगानीको १४ प्रतिशत हिस्सा उत्पादनमुलक क्षेत्रले ओगटेको छ । यस क्षेत्रमार्फत १ बर्षमा ५१ परियोजनामा १ अर्ब ७२ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा भने उर्जा र सूचना तथा संचार क्षेत्रमा आउने लगानी प्रतिवद्धता भने घटेको छ । यी दुई क्षेत्रमा मात्रै अघिल्लो आवभरी ४ अर्ब ५५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएपनि गत आवमा भने यस्तो लगानी घट्दै ५२ करोड ६२ लाख रुपैयाँमै सिमित भएको हो ।

चीनको लगानी ८० प्रतिशत, भारतलाई उछिन्दै स्पेन दोस्रोमा

गत आवमा आएको कुल वैदेशिक लगानीमध्ये चीनको हिस्सा मात्रै कवि ८० प्रतिशत छ । चीनबाट गत आर्थिक बर्षमा २ सय २८ परियोजनामार्फत ४२ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आवमा आएको कुल लगानी प्रतिवद्धतामध्ये ७९.१७ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमार्फत १३ हजार ५ सय १५ जनाले रोजगारी पाउने बताईएको छ ।

वैदेशिक लगानीमा पहिलो र दोस्रो हुने प्रतिस्पर्धा छिमेकी देश भारत र चीनको हुन्थ्यो । तर, गत आवमा भने दोस्रो स्थानमा रहेको भारतलाई उछिन्दै स्पेन दोस्रोमा आईपुगेको छ । गत आवभरी स्पेटबाट एउटा मात्रै परियोजनामार्फत ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो नेपालमा आएको कुल विदेशी लगानीको ९ प्रतिशत हुन आउँछ ।

यसअघि नेपालमा धेरै विदेशी लगानी प्रतिवद्धता जाहेर गर्ने पहिलो स्थानमा चीन र दोस्रोमा भारत हुने भएपनि यसपाली स्पेन दोस्रोमा आईपुगेको हो । यता भारतबाट भने गत आवभरी १२ परियोजनामार्फत २ अर्ब ४८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । गत आवमा नेपालमा चीन, स्पेन, भारत, सिंगापुरलगायत २३ देशबाट वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

सवारी एसेम्बलदेखि तेल प्रशोधनसम्म

गत आर्थिक बर्षमा नेपालमा प्रतिवद्धता आएको कुल लगानीमध्ये १४ प्रतिशत हिस्सा उत्पादनमुलक क्षेत्रले ओगटेको छ । पछिल्लो समय नेपालले नेपाली उत्पादनलाई जोड दिएर निर्यात व्यापारलाई बढाउने भनिरहँदा यस्तै उद्योगमा न्युन लगानी प्रतिवद्धता आएको छ । अझ विदेशी लगानीकर्ताहरु भने यसमा कमै आकर्षित भएका छन् । यस क्षेत्रमार्फत १ बर्षमा ५१ परियोजनामा १ अर्ब ७२ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । त्यसमध्ये धेरैजसो परियोजनाहरु फर्निचर, सवारी एसेम्बल र तेल प्रशोधनसम्बन्धीका छन् । यस अवधिमा भारतबाट धेरैजसो लगानीकर्ताहरु खानेतेल प्रशोधन उद्योगतर्फ आकर्षित भएका छन् भने चिनियाँ लगानीकर्ताहरु सवारी एसेम्बलतर्फ आकर्षित भएका छन् ।

यस अवधिमा नेपालमा ४ ओटा खानेतेल प्रशोधन गर्ने उद्योग र ७ ओटा सवारी एसेम्बल गर्ने उद्योगमा लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ । यस्तै यस अवधिमा अगरबत्ती बनाउने, चस्माको फ्रेम बनाउने, स्टिलका फर्निचर, तयारी पोशाक उत्पादन, खानेपानी प्याकेजिङ गर्नेलगायतका उद्योगहरुमा पनि लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL