Logo

सिंगापुर वेभरेजले पूँजी ८० करोड पुर्याउँदै, क्षमता विस्तार गरेर देशैभर पुग्ने योजना

सिंगापुर वेभरेजले पूँजी ८० करोड पुर्याउँदै, क्षमता विस्तार गरेर देशैभर पुग्ने योजना



काठमाडौं । नेपाली इनर्जी ड्रिंक उत्पादक सिंगापुर वेभरेज नेपाल प्रालिले आफ्नो क्षमता विस्तार गर्र्ने भएको छ । यसअघि लघु तथा घरेलु उद्योगमा दर्ता भएको कम्पनीले आफ्नो क्षमता विस्तार गर्नका लागि र पूँजी वृद्धिका लागि उद्योग विभागबाट स्वीकृति पाएको हो । उद्योग विभागले चालु बर्षको बैशाख बैशाख २८ गते कमपनीलाई ८० करोड चुक्ता पुँजी पुर्याउनका लागि स्वीकृति दिएको हो ।

कम्पनीले हालसम्म ५ करोडभन्दा तलको पूँजी राखी क्लव कोला, फ्यान्सी, मनसुन ड्यु, क्लब सोडालगायतका पेय पदार्थहरु बजारमा विक्री वितरण गर्दै आइरहेको थियो । पूर्वी तराईका विभिन्न शहरमा लोकप्रिय भएका कम्पनीका पेयपदार्थहरु नेपालभर फैलिने तरखर गरिरहँदा कम्पनीले उद्योगको पूँजी बढाई क्षमतासमेत विस्तार गर्ने भएको हो ।

कम्पनीले झापा जिल्लाको मेचीनगर १४ मा करिव ३ विघामा फैलिएको क्षेत्रमा १ बिघा बढी ओगट्ने गरी प्लान्ट स्थापना गरी विभिन्न पेय पदार्थ उत्पादन गर्दै आईरहेको छ । कम्पनीले अब यसको क्षमता विस्तार बार्षिक गर्दै ७२ हजार किलोलिटर कार्बाेनेटेड ड्रिंक, १३ हजार किलोलिटर ईनर्जी ड्रिंक र १३ हजार किलोलिटर जुस उत्पादन गर्ने योजना बनाएको छ । उक्त प्लान्ट र यसको व्यवस्थापनका लागि कम्पनीले ५ सय जनालाई रोजगारी दिने योजना उद्योग विभागमा पेश गरेको छ ।

कम्पनीले हाल बजारमा निम्बु पानी, राईट लेबल, क्लबकोला, फ्यान्सी, जीरु, मनसुन ड्युलगायत ११ ओटा उत्पादन बजारमा पठाएको छ । कम्पनीका प्रवन्ध निर्देशक झापाका डा. आशिष शर्मा हुन् । कम्पनीले पूँजी वृद्धि गरेसँगै थप नयाँ उत्पादन पनि बजारमा ल्याउने योजना बनाएको कम्पनीका एक कर्मचारीले बिजखबरलाई जानकारी दिए ।

ट्रेडमार्क चोरीको मुद्दा विचाराधीन

सिंगापुर वेभरेजलाई बहुराष्ट्रिय कम्पनी कोकाकोलाको डिजाइन चोरेको आरोप छ । कम्पनीले आफ्नो उत्पादन क्लव कोलाको अक्षरको डिजाइन कोकाकोलाको जस्तै बनाएको भन्दै उद्योग वाणिज्य विभागमा उजुरी परेको हो । पुनः कोकाकोलाले उच्च अदालत इलाममा पनि कम्पनीविरुद्ध डिजाइन चोरेको आरोपमा मुद्दा दायर गरेको थियो तर, इलाम उच्च अदालतले उक्त मुद्धा उद्योग विभागमै विचाराधीन रहेको भन्दै आदेश दिएको थिएन ।

हालसम्म पनि कम्पनीविरुद्धको मुद्दा उद्योग विभागमा विचाराधीन रहेको विभागको कानुन शाखाका उपसचिव दिपक घिमिरे बताउँछन् । उनका अनुसार कोकाकोलाले सिंगापुर वेभरेजविरुद्ध अक्षरको डिजाईन चोरेको र उक्त डिजाईनको उत्पादन रोक्न माग गर्दै मुद्दा दायर गरेको छ । विभागले यसको फैसलाका लागि तयारी गरिरहेको उनले बताए ।

तर, सिंगापुर वेभरेजले भने बोतल, लोगो डिजाईन, लेबललगायत विभागमा दर्ता गरेर उत्पादन बेचिरहेकाले कानुनी नै भएको बताउँदै आएको छ । कम्पनीले कोकोकोला कम्पनीको उत्पादन फ्यान्टाजस्तै देखिने ‘फ्यान्सी’, कोकाकोलाजस्तै देखिने ‘क्लबकोला’, स्प्राईटजस्तै देखिने ‘राईट’ पेप्सीको उत्पादन माउन्टेन ड्युजस्तै देखिने ‘मनसुन ड्यु’लगायतका उत्पादनहरु बजारमा विक्री वितरण गरिरहेको छ । जसको उच्च आलोचनासमेत भइरहेको छ । करिव ५ बर्षदेखि यसका उत्पादन बजारमा आइरहेका छन् । सन २०१७ बाट कम्पनी संचालनमा आएको थियो । कम्पनीविरुद्ध ४ बर्षअघि उच्च अदालत इलाममा मुद्धा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL