Logo

हालका समस्या प्राविधिक कारण हुन्, पुनः लोडसेडिङ फर्किँदैन : नेपाल विद्युत प्राधिकरण

हालका समस्या प्राविधिक कारण हुन्, पुनः लोडसेडिङ फर्किँदैन : नेपाल विद्युत प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म लोडसेडिङका बारेमा भएका सबै हल्लाहरु निराधार भएको बताएको छ । शुक्रबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकास सम्मेलनमा पछिल्लो समय चलेका सबै हल्लाहरु हल्लामात्रै भएको र अब लोडसेडिङ नहुने बताएको हो ।

laxmi

प्राधिकरणका अनुसार विद्युतका उपभोक्ताहरूको माँगभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिंग गर्नुपर्ने बाध्यता रहन्छ। हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरीक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माँग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिंग नभएको र भविष्यमा पनि गरिने अवस्था नभएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिंग हैन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको समेत उल्लेख गरिएको छ । विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने जस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै संचालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको छ ।

प्राधिकरणले यसअघि गत १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध सो प्रणालीमा आएको प्राविधिक समस्या रहेको समेत जनाएको छ । १३ गते सोमबार एकीकृत राष्ट्रिय विद्युत प्रणाली मा साँझ ६ः२५ बजे १४३१ मेगावाटको लोड थियो । सो समयमा खिम्ती( लामोसाँगु १३२ केभि प्रसारण लाइन पूर्ण क्षमतामा संचालित भएको, खिम्ती-लामोसाँगु-भक्तपूर-मातातीर्थ-हेटौंडा-ढल्केबर प्रसारण लाइन एउटै लुपमा संचालित भएकोमा, सोही समयमा माङ्दी जलविद्युत केन्द्रको पीकिङ जलाशयमा पानीको सतह न्यूनतममा पुगे पछि प्रणालीमा यथावत सूचारू राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने विद्युतको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती-लामोसाँगु प्रसारण लाइन ओभरलोड हुनगई प्रणाली ट्रिप हुन गएको थियो । यस्तै समस्याहरु बेलाबेलामा आएपनि सोहीअनुसार प्राधिकरणले चाँडोभन्दा चाँडो प्राविधिक खटाई काम गर्ने गरेको बताएको छ ।

यसअघि बेलाबेलामा झ्याप्प झ्याप्प बत्ती जान थालेपछि विभिन्न संचारमाध्यहरुले पुनः लोडसेडिङ युगको सुरुवात भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL