Logo

नेपालकै विजुली खेर जानलाग्दा भारतबाट २५० मेगावाट आयात गर्दै प्राधिकरण, जाडोमा लोडसेडिङ नहुने

नेपालकै विजुली खेर जानलाग्दा भारतबाट २५० मेगावाट आयात गर्दै प्राधिकरण, जाडोमा लोडसेडिङ नहुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात गर्ने भएको छ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउनका लागि प्राधिकरणले भारतबाट २५० मेगावाट विद्युत् आयात गर्न लागेको हो ।

laxmi

माथिल्लो तामाकोशी जस्ता ठूला आयोजनाहरु समयमै बनाउन नसक्दा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने भएको हो । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । भारतले विद्युत बिक्री गर्न स्वीकृति दिएपछि मात्रै प्राधिकरणलाई सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि सहज भएको छ । उनका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उहाँले जानकारी दिए ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनसमेत ४०० केभीमा सञ्चालनमा आएको छ । सवस्टेशनको क्षमता वृद्धिसँगै अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केबर–मुजफफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभीमा नै सञ्चालन हुनेछ ।

नेपालको तर्फबाट प्रसारण लाइनको क्षमता वृद्धिका लागि कुनै समस्या नभए पनि भारतको तर्फबाट स्वीकृति दिनुपर्ने र सुरक्षात्मक उपायसमेत अवलम्बन गर्नुपर्ने कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरुपमा समेत सवस्टेशनको मर्मत तथा सम्भारलाई समेत ध्यान दिएको छ । ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा समेत मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको छ । भरतबाट हेटौँडा हुँदै आउने र खिम्ती भएर आउने विद्युत् प्रवाहमा समेत एकरुपता कायम गरिएको छ । यसबाट स्वीचीङमा हुने समस्या समाधान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL