Logo

महासंघमा दशैंसँगै चुनावी सरगरबी, वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल सहित ढकाल प्यानलका उपाध्यक्षहरु श्रेष्ठ, तिवारी र संघईले उम्मेदवारी दर्ता गराए

महासंघमा दशैंसँगै चुनावी सरगरबी, वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल सहित ढकाल प्यानलका उपाध्यक्षहरु श्रेष्ठ, तिवारी र संघईले उम्मेदवारी दर्ता गराए



नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका हुन् । तिवारीले भने भर्चुअलमाध्यमबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।
गत वर्षको मंसिरमा गृह जिल्ला बागलुङ्गमा आयोजित बागलुङ्ग महोत्सवमा बागलुङ्ग उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो । पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तै यहीँ असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामुहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवार दर्ता पछि के भने ढकालले ?
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए ।


उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दावी गरे ।
‘देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् । यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालिनरुपमा प्रभाव पर्छ’ उनले भने, ‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं ।’
उनले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताए । त्यस्तै राज्य र व्यवसायीबिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यवसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने समेत उनले बताए । ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारिका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताए ।
के भने उपाध्यक्षहरु श्रेष्ठ, संघई र तिवारीले ?
वस्तुगत संघतर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघको नेतृत्वमा व्यवसायिक व्यक्ति तथा स्टेकहोल्डर आएमात्र त्यसले निजी क्षेत्रका व्यवसायीहरुको वास्तविक प्रतिनिधित्व हुने बताउँदै सरकार तथा अन्य सरोकारवाला निकायहरुमा व्यवसायीका समस्याहरु र व्यवसायका विषयवस्तुहरु उठान गर्न, व्यवसायी मैत्री कानुन, नीति, नियमका लागि पैरवी गर्न र सम्बन्धित निकायले पनि सुन्ने अवस्था बनाउन आफ्नो टिम मात्र सक्षम रहेको बताए । ‘यदि नेतृत्वमा हामीले वास्तविक व्यवसायीलाई नै पु¥याउन सकिएन भने हाम्रो आवाज पनि सुनिदैन र समस्याहरुको समाधान पनि मिल्दैन’ उनले भने, ‘त्यसैले एउटा व्यवसायीको हिसाबले, सानादेखि ठूला सबै व्यवसायीको साझा प्रतिनिधिका हिसाबले हामीले प्यालन बनाएका छौं र सबै साथीहरुको भावना र चाहाना समेटेका छौं ।’


जिल्ला नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले साना तथा मझौला व्यवसाय नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै महासंघमा पनि साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिस्चित गर्नका लागि चन्द्र ढकालको समूहलाई व्यवसायीहरुले रोजेको बताए । उनले महासंघलाई सबै उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउन आफूहरुले पहल गर्ने बताए ।
एशोशियटतर्फका उम्मेदवार रामचन्द्र संघईले आफु निर्वाचित भएपछि निजी व्यवसायिक प्रतिष्ठानहरुले भोगेका समस्या समाधानमा विशेष ध्यान दिने बताए । उनले आफ्नो कार्यकालमा उत्पादनमूलक उद्योगलाई बढवा दिने, आन्तरिक रोजगारी सृजना गर्ने र, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL