Logo

उद्योगी व्यवसायीलाई कोरोना अफर : लकडाउन अबधिको बीमा प्रिमियममा ३३ प्रतिशत छुट, व्यवसायको प्रकृति अनुसार थप छुट दिईने

उद्योगी व्यवसायीलाई कोरोना अफर : लकडाउन अबधिको बीमा प्रिमियममा ३३ प्रतिशत छुट, व्यवसायको प्रकृति अनुसार थप छुट दिईने



काठमाडौं । सरकारले लकडानको अबधिमा बन्द रहेका उद्योग व्यवसायको बीमाको प्रिमियममा छुट दिने भएको छ । बीमा समितिले लकडाउनको अबधिमा संचालनमा नआएका उद्योग व्यवसायको बीमाको प्रिमियममा छुट दिने निर्णय गरेको हो ।

बीमा समितिमा आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल विमक संघबीच भएको छलफलले बन्दाबन्दीको अवस्थामा संचालनमा नआएका उद्योग व्यवसायको बीमाको प्रिमियममा छुट दिने निर्णय गरेको बीमा समितिका सुचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए । ‘आजको संयुक्त छलफलले लकडाउनको अबधिमा र त्यसपछि पनि संचालनमा नआएका उद्योगहरुको बीमाको प्रिमियममा एक तिहाई छुट दिने निर्णय भएको छ,’ उनले भने, ‘उक्त छुट कति समयको भन्दा पनि कुन र कस्ता प्रकृतिका उद्योग व्यवसाय कति समयसम्म संचालनमा आएका छैनन् सोही आधारमा छुट प्रदान गरिनेछ ।’

यसैगरी आंतकंवाद र हुलदंगा अन्तरगतको बीमा प्रिमियमलाई पनि सोही अनुरुप छुट दिएर समायोजना गरिने समेत अधिकारीले जानकारी दिए । ‘लकडाउनको अबधिमा अत्यावश्यक सेवाका कतिपय उद्योगहरु चलिरहेका थिए भने लकडाउन खुलेपछि पनि कतिपय उद्योग व्यवसाय संचालनमा आएका छैनन्,’ उनले भने, ‘कुन उद्योग व्यवसाय कति समय चल्दैनन् सोही अनुरुप छुट प्रदान गरिने छ ।’

कस्ता प्रकृतिका उद्योगलाई कति समयसम्मका लागि छुट दिनुपर्ने हो सो विषयमा सूची तयार गर्ने जिम्मा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई दिईएको समेत उनले जानकारी दिए । महासंघ र सीएनआईले प्रदान गरेको उद्योग व्यवसायको आधारमा छुट दिनका लागि बीमा कम्पनीहरुलाई निर्देशन दिईने समेत उनले जानकारी दिए ।

तर त्यसरी दिईने छुटलाई बीमा पोलिसी नविकरण गर्दा मिलान गरिने समेत उनको भनाई थियो । ‘हामीले छुट भनेर कुनै पनि सेवाग्राहीलाई नगद नै दिने होइन,’ उनले भने, ‘बीमा पोलिसी नविकरण गर्दा उक्त समयावधिको छुटलाई मिलान गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL