Logo

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने, जनता मारेर आर्थिक क्रियाकलाप संचालन गर्न सकिँदैन

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने, जनता मारेर आर्थिक क्रियाकलाप संचालन गर्न सकिँदैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको माग बमोजिम जनताको ज्यानलाई जोखिममा राखेर आर्थिक क्रियाकला संचालन गर्न नसकिने बताए ।

‘सरकारको प्रयास पहिलो प्रयास मानव जीवन हो त्यसपछि मात्र अर्थतन्त्र हो,’ संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कोभिड १९ कारण अर्थतन्त्र खस्कियो भने पुनः उकास्न सकिन्छ त्यसका लागि सरकार लागि परेको छ तर मानवीय क्षती भयो भने त्यसलाई कसरी रिकभर गर्न सकिन्छ ?’

लकडाउनका कारण देशमा कोरोनाको संक्रमण धेरै फैलिन नपाएको र मानवीय क्षति नभएको जानकारी दिँदै निजी क्षेत्रको माग अनुरुप अर्थतन्त्र चलायमान बनाउदा मानवीय क्षति भयो भने त्यसले केकेमा असर पार्छ त्यो एकदमै ठूलो कुरा भएको ओलीको भनाई थियो ।

कोरोनाले धनी गरिव तथा उपल्लो ओहोदाको व्यक्ति कसैलाई पनि नछोड्ने भन्दै प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई पनि सुरक्षित रहन आग्रह गरेका छन् । ‘उद्योगी व्यवसायीको पनि ज्यान रहे अर्थतन्त्र वा उद्योग व्यवसाय रहने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘पहिला तपाईहरु पनि सुरक्षित रहनुस आफ्नो ज्यान जोगाउनुस उद्योग व्यवसाय तथा अर्थतन्त्रसँगै हातेमालो गरेर उकासौला ।’ साथै यस विषयमा सरकारले पनि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिए ।

लकडाउनको नीति नियम नमान्दा अहिले विश्वका धेरै शक्तिशाली मुलुकहरुमा ठूलो संख्यामा मानवीय क्षती र सोही अनुपातमा संक्रमण बढेको जानकारी दिँदै अबका दिनमा नेपालीले त्यसलाई पालना गर्नुको विकल्प नरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL