Logo

रोल्पाको कोइलाचौर सबस्टेशन संचालनमा, रोल्पा सिमेन्ट उद्योगलाई कोइलाचौरबाटै विद्युत आपुर्ति

रोल्पाको कोइलाचौर सबस्टेशन संचालनमा, रोल्पा सिमेन्ट उद्योगलाई कोइलाचौरबाटै विद्युत आपुर्ति



काठमाडौं । रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेशन संचालनमा आएको छ । रोल्पा र सल्यानको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेशन मंगबारबाट संचालन (चार्ज) मा आएको हो ।

रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेशनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिएका छन ।

सिंहका अनुसार सबस्टेशनबाट ३ ओटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाउप्ािलका, कोइलाचौरजुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बुढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत् आपूर्ति गरिने छ । उक्त सवस्टेशनबाट करिब ३० हजार जनता प्रत्यक्ष लाभान्वित हुने छन ।

दाङको तुलसीपुरबाट करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सबस्टेशन विद्युत आपूर्ति गरिएको छ । प्राधिकरण र इष्ट इन्डिया÷बाक्ष्बा इन्फ्राटेक जेभीबीच सबस्टेशन निर्माणका लागि ९ करोड ३८ लाख रुपैयाँमा आर्थिक वर्ष ०७१/७२ मा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि देशभरीनै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना रहेको छ ।

चालु आवमा झापामा घैलाडुब्बा, सप्तरीको रुपनी, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, वर्दियाको राजापुर, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन बनाउने लगायतका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL