Logo

संचालनमा आयो बर्दियाको राजापुर सबस्टेशन, विद्युत आपूर्तिमा सुधार

संचालनमा आयो बर्दियाको राजापुर सबस्टेशन, विद्युत आपूर्तिमा सुधार



काठमाडौं । बर्दियाको राजापुरमा निर्माण गरेको राजापुर सबस्टेशन संचालनमा आएको छ । उक्त क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँ लगानीमा ३३÷११ किलोभोल्ट (केभी) सबस्टेशन निर्माण गरेको हो ।

उक्त सबस्टेशन निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रका करिब २० हजार ग्राहकले विद्युत प्रयोग गर्न पाउने भएका छन । कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइन समेत बुधबारबाटै संचालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन ।

यस अघि सो क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो । लामो दुरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप, लाइन ट्रिपलगायतका समस्या रहेको थियो । उनले भने, ‘टिकापुरबाट ३३ केभीबाट राजापुर सबस्टेशनमा विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्ने छ ।’

राजापुर सबस्टेशनबाट ३ वटा फिडरहरु राखिएको छ । जसमध्ये ११ केभीका दुई फिडरहरुबाट विद्युत आपूर्ति गरिएको प्राधिकरणका नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले बताए । उक्त सबस्टेशन निर्माणका लागि आर्थिक वर्ष ०७१÷७२ मा ठेक्का सम्झौता गरेको थियो ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि देशभर नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढिकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरिय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रीड र २० वटा सबस्टेशनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने प्राधिकरणले जानकारी दिएको छ । चालु आव भित्रै प्राधिकरणले १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL