Logo

हुलाससँगको सम्झौता तोड्दै विद्युत प्राधिकरण, कालोसूचीमा राख्ने कुलमानको चेतावनी

हुलाससँगको सम्झौता तोड्दै विद्युत प्राधिकरण, कालोसूचीमा राख्ने कुलमानको चेतावनी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलास ईन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनलाई कालोसुचीमा राख्ने चेतावनी दिएका छन ।

laxmi

सो कम्पनीले कुलेखानी तेस्रो जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको थियो । कामको जिम्मा लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनले आयोजनाको निर्माण ढिलाइ भएसँगै कुलमानले उक्त चेतावनी दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुलासका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरे कम्पनीले अन्य स्थानमा लिएको ठेक्का सम्झौता समेत तोडी कालोसूचीमा राख्ने चेतावनी दिए । ‘अझै पनि विभिन्न बहाना बनाउँदै कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु,’ उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई भने, ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अवरोध के हुन सक्छ ?’

कम्पनीले विद्युतगृह तथा प्रसारण लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरुले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिने जानकारीमा आएको छ । कम्पनीले श्रमिकहरुलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको उक्त आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने जानकारी समेत दिएको छ ।

शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो ।

आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आतबार नै समाधान गरिदिएको छ ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ । ‘विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करिब करिब सम्पन्न भइसकेको छ, अहिले उपकरणहरुको ड्राई टेष्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरणहरुको परीक्षण भइसकेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘जतिसक्दो छिट्टो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं ।’ आयोजनाको निर्माण चालु आर्थि वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL