Logo

राष्ट्र बैंक पुगेका महासंघ प्रतिनिधिलाई गभर्नरको जवाफ, बैंकहरुलाई ठेगान लगाउन चालू पूँजी कर्जा मागर्दशन आवश्यक

राष्ट्र बैंक पुगेका महासंघ प्रतिनिधिलाई गभर्नरको जवाफ, बैंकहरुलाई ठेगान लगाउन चालू पूँजी कर्जा मागर्दशन आवश्यक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी तथा व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाको गैरकानूनी क्रियाकलापलाई रोक्न चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन ल्याउनु परेको बताएका छन् । राष्ट्र बैंकको नीति विरुद्ध गभर्नर अधिकारीलाई आफ्नो गुनासो राख्न राष्ट्र बैंक पुगेका महासंघ प्रतिनिधिमण्डलाई गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

अहिलेको बढ्दो व्याज र चालू पूँजी कर्जा सम्बन्धी मागर्दन आफ्नो रहरले नभई देशको अर्थतन्त्र जोगाउँदै बैंकहरुको गैरकानूनी क्रियाकलापलाई रोक्न बाध्यकारी रुपमा ल्याउनु परेको गभर्नर अधिकारीको भनाई थियो । साथै उक्त भेटमा गभर्नर अधिकारीले बैंकहरुले आफुखुशी मनलाग्दी तरिकाले लगानी गरेकाले त्यसलाई रोक्नकै लागि पनि चालू पूँजी कर्जा मार्गदर्शन आवश्यक भएको जानकारी गराएका थिए । अहिलेको उच्च व्याजदर तथा चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उपाध्यक्ष दिनेश श्रेष्ठ र ७ ओटै प्रदेशका अध्यक्ष गभर्नर अधिकारीलाई भेट्न राष्ट्र बैंक पुगेका थिए ।

भेटमा गभर्नर अधिकारीले राष्ट्र बैंकको नियमले उद्योग व्यवसायीलाई साच्चिकै समस्या पेरेमा मौखिक रुपमा भन्न वा पत्र लेखेरै भएपनि जानकारी गराउन आग्रह गरेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । ‘गभर्नर अधिकारीले अहिलेको समस्या तत्काल समाधान गर्न कुनै चासो देखाउनु भएको जस्तो लागेको छैन,’ उनले भने, ‘अहिले अर्थतन्त्र समस्यामा परेकाले त्यसलाई जोगाउन केही कडाई गरिएको बताउनु भयो तर समाधान कसरी गर्ने भन्ने कुनै निष्कर्ष निक्लिएन ।’

‘हामीसँगको भेटमा गभर्नरले बैंकको गैरकानूनी क्रियाकलाप रोक्न चालू पूँजी कर्जा मार्गदर्शन ल्याइएको बताउनु भयो,’ उनले भने, ‘उक्त मार्गदर्शन आएसँगै बैंकले हामी उद्योगी व्यवसायीलाई पेल्न थाले अब उद्योगी व्यवसायीले चाहिँ कसलाई पेल्ने ?’

महासंघले उद्योगी व्यवसायीका समस्या समाधान नभएमा पुस १ गतेदेखि चरणबद्ध रुपमा राष्ट्र बैंक र सरकार विरुद्ध आन्दोलन गर्ने उद्घोष गरेको छ । तर आज गभर्नरसँगै भेटमा चित्त बुझ्दो जवाफ नआएकाले अबका दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा ७ ओटै प्रदेशका अध्यक्षहरुसँग छलफल गरेर निर्णय लिईने समेत उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL