Logo

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित, लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित, लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । विहीबार पर्साको होटल भिष्वामा सम्पन्न भएको सभाले उक्त लाभांश पारित गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत दरले हुन आउने १ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले आ.व. २०७७÷७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा पुर्याउन संरचनात्मक सुधार रहेको बताएका छन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय बृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको धारणा राखेका थिए । साथै उनले कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए ।

साधारणसभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले संचालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका सभामा छलफल भएको थियो । तर, उक्त विषयमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले समेत उल्लेख गरिएको छ । त्यसैले उक्त प्रस्ताव यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरि आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो ।

नेपाल लाईफले २०७९ असोज मसान्तसम्ममा लगानी १४९.७६ अर्ब रुपैयाँ गरिसकेको र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ संचित भइसकेको जानकारी गराएको छ । साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL