Logo

आन्दोलनरत उद्योगी व्यवसायीलाई बैंकरको चुनौती : व्याजदर कसरी निर्धारण हुन्छ पढ्न आउनु, किस्ता र ब्याज तिर्नु प्रगती गर्नु

आन्दोलनरत उद्योगी व्यवसायीलाई बैंकरको चुनौती : व्याजदर कसरी निर्धारण हुन्छ पढ्न आउनु, किस्ता र ब्याज तिर्नु प्रगती गर्नु



काठमाडौं । उच्च व्याजदर विरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीलाई बैंकहरुले स्थिर व्याजदरको माग राखेर आन्दोलन गर्नुको कुनै औचित्य नभएको बताएका छन् । पछिल्लो समय बैंकको वेसरेटका साथै सोही अनुरुप प्रिमियम थप गरेर व्याजदर बढाएको भन्दै देशभरका उद्योगी व्यवसायी आन्दोलित बनेका थिए । तर बैंकरले भने व्याजदर कसरी निर्धारण हुन्छ भन्ने विषयमा उद्योगी व्यवसायीलाई वित्तीय साक्षरताको क्लास लिन आग्रह गरेका छन् ।

सो विषयमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आफ्ना फेसवुक मार्फत लेखेका छन्, ‘हाम्रा उद्योगी व्यवसायीलाई वित्तीय साक्षरताको क्लासमा पठाउनु पर्ने भयो, दुनियाँमा कहाँ स्थिर व्याजदर हुन्छ ?’ साथै उनले व्याजदर बजार र स्रोतको उपलब्धताले निर्धारण गर्ने भन्दै बैंकहरुले पनि त्यसैलाई पच्छ्याउने जानकारी दिएका छन् । साथै उनले सडकमा गरिने नारा जुलुसको कुनै औचित्य नभएको भन्दै साँवा तिरौ, व्याज तिरौ र प्रगति गरौं भनेर उनले आन्दोलनरत उद्योगी व्यवसायी माथि व्यग्य गरेका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ऋणीसँग उच्च ब्याज असुल्न थालेसँगै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

केही समयअघि चर्को ब्याजको विरुद्धमा नेपाल उद्योगी तथा व्यवसायी महासंघले नेपाल राष्ट्र बैंक लगायतका निकायमा ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी हाल बैंक तथा वित्तीय संस्थाले आफुखुशी लिएको ब्याजदर नियन्त्रण गरिदिन आग्रह गरेका थिए । तर सो विषयमा कुनै सुनुवाई नभएपछि उद्योग वाणिज्य संघ काठमाडौंको अगुवाईमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत उद्योगी व्यवसायीले माईतीघरमा वृहत प्रदर्शन गरेका थिए ।

यस्तै मंगलबारमात्रै पूर्वका उद्योगी व्यवसायीले व्यानरसहित विरोध र्याली निकालेर सम्बद्ध निकायमा ज्ञापनपत्र बुझाएका थिए भने कास्की चेम्बरले पनि व्याजदरको विरोधमा राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालयमा ब्याजदरको विरोधमा ज्ञापनपत्र बुझाएका थिए ।

उद्योगी व्यवसायीहरुले आफु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL