Logo

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्दा पनि निगमले घटाएन, जनतामाथि भार थुपारेर नाफा कमाउँदै

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्दा पनि निगमले घटाएन, जनतामाथि भार थुपारेर नाफा कमाउँदै



काठमाडौं । लगातार ३ महिनादेखि अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागिरहेको छ । यसबीचमा औषतमा कच्चा तेलको मूल्य प्रतिब्यारल करिव २० डलरसम्मले घटेको थियो । तर, नेपालमा भने यसको खासै असर देखिएन । नेपाली उपभोक्ताले बढेको मूल्यमै पेट्रोल, डिजल, हवाई इन्धन र मट्टितेल खपत गर्नुपर्यो ।

गत भदौ १३ गते अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल १ सय २ डलरसम्म पुगेको थियो । त्यसको करिव १ महिनापछि अर्थात असोज ११ मा घटेर ८२ डलर आसपासमा पुगेको थियो । त्यसबीचमा नेपालमा भने २ महिना अघिकै मूल्यमा पेट्रोलियम पदार्थ विक्री भईरहेको थियो ।

नेपाल आयल निगमले भारतीय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ । यसरी खरिद गरेको पेट्रोलियमको मूल्य पनि भारतीय आयल निगमले प्रत्येक महिनाको १ र १६ गते पठाउने गरेको छ । सोही अनुसार नेपाल आयल निगमले स्वचालित प्रणालीबाट नेपाली बजारमा पेट्रोलियमको मूल्य निर्धारण गर्ने गरेको बताउँदै आएपनि यसबीचमा भारतीय आयल निगमले पठाएको मूल्य, नेपाल आयल निगमले निर्धारण गर्ने मूल्य र अन्तरराष्ट्रिय बजारमा कच्चा तेलसँगको मूल्यबीच तालमेल हुन सकेको देखिँदैन ।

गत फागुन महिनाको २४ गते विश्व बजारमा कच्चा तेलको मुल्य हालसम्मकै उच्च १ सय २७ डलर प्रतिव्यारल पुगेको थियो । त्यसबेला नेपालमा भने पेट्रोलको मूल्य १ सय ५५ रुपैयाँ प्रतिलिटरमा विक्री भईरहेको थियो । नेपाल आयल निगमले पेट्रोलको मूल्य हालसम्मकै उच्च बनाएको जेठ २६ गते भने अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल १११ डलर आसपासमा थियो । यसरी पछिल्लो ६ महिनामै अन्तरराष्ट्रिय बजारमा लगातार पेट्रोलियमको मूल्य घटेपनि निगमले भने आफु घाटामा रहेको भन्दै पछिल्लो २ महिनादेखि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

तर यो महिना पनि भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । यसरी बढाएर पठाएको मूल्यसँग नेपालको मूल्य तुलना गर्दा डिजेल र ग्याँसबाहेकका ईन्धन विक्रीमा निगमलाई फाईदा छ । यसरी फाईदा खाँदा पनि १५ दिनमा जम्मा १८ करोड रुपैयाँ उठ्ने र त्यसले यसअघिको भारतलाई तिर्नुपर्ने ऋण तिर्न नपुग्ने निगमको भनाई छ ।

भारतीय आयल निगमलाई नेपाल आयल निगमले २९ अर्ब ११ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । सोही अनुरुप निगमले उक्त ऋण नतिर्दासम्म जनताका लागि ईन्धनको मूल्य घटाउन नसकिने संकेत यसअघिका विज्ञप्तिमार्फत दिईसकेको छ । हाल विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल ९७ डलरको आसपासमा छ ।

यस अवधिमा नेपालमा भने पेट्रोल १८१ र डिजेल प्रतिलिटर १७८ रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १८ सय रुपैयामा कारोबार भईरहेको छ । हाल निगमले नेपालमा डिजलमा १२।१४ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर साढे २ सय रुपैयाँ घाटा खाएर बेचिरहँदा, पेट्रोल, मट्टितेल र हवाई ईन्धन विक्रीबाट नाफा कमाईरहेको छ । जसमार्फत आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL