Logo

तिहारमय बजार : माटोको भाँडादेखि फूलमालाको व्यापार उच्च, चिनियाँ नाकाबन्दीले विद्युतीय सामानको अभाव

तिहारमय बजार : माटोको भाँडादेखि फूलमालाको व्यापार उच्च, चिनियाँ नाकाबन्दीले विद्युतीय सामानको अभाव



काठमाडौं । नेपालीहरुको महान चाड मानिने दशैंको रौनक बाँकी हुँदै तिहारको रौनक सुरु भएको छ । नेपाली व्यवसायीहरुका लागि भने यो समय बढी व्यस्त समय पनि हो । बर्षभरी हुने व्यापारको करिव ४० प्रतिशत तिहारमा मात्रै हुने भएकाले लत्ताकपडा, रंगरोगन, अटोमोबाइललगायत हरेक प्रकारका व्यापारीहरु यसबेला व्यस्त छन् ।

काठमाडौंको न्युरोड, असनलगायतमा क्षेत्रमा सेवाग्राहीको उच्च भिड देख्न सकिन्छ । काठमाडौंको खिचापोखरीमा फेन्सी पसल चलाईरहेका सुनिल बास्तोला पछिल्लो ३ दिनदेखि बजारमा रौनक बढेको बताउँछन् । यसपाली फेन्सी सामानको व्यापार त्यतिधेरै नभएपनि साविकको भन्दा ग्राहक बढेको उनको भनाई छ ।

यता असनमा माटाका भाँडाकुँडा विक्री गर्दै आएका भक्तपुरका रोसन श्रेष्ठलाई पनि भयाईनभ्याई छ । उनको पसलबाट माटोका गमला, प्याला, दियो, कलसलगायतका सामग्रीहरु धमाधम विक्री भईरहेका छन् । पछिल्लो ३ दिनमा मात्रै उनले करिव १ लाख ५० हजार बढीको व्यापार गरिसकेको बताए । उनले भक्तपुरलगायतका स्थानबाट माटोको भाँडा ल्याएर होलसेल तथा खुद्रामा बेच्ने गरेका छन् । ‘अझै व्यापार हुने दिन आउँदैछन्,’ उनले भने, ‘आईतबारदेखि अझै बढी व्यापार हुने अनुमान गरिएको छ ।’

तिहारको समय नजिकिँदै गर्दा व्यापारीहरु व्यस्त भएपनि अझै सोचेअनुरुप व्यापार नभएको उनको भनाई छ । तिहारको रौनक सुरु भएपनि व्यापार सुरु हुन अझै १ २ दिन लाग्ने उनले बताए । काठमाडौंको असन, ईन्द्रचोकलगायतका क्षेत्रमा देशभरीका लागि सामान लिन आउनेहरुको पनि उत्तिकै भिड देख्न सकिन्छ ।

देशका विभिन्न शहर तथा बजारमा आवश्यक दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायतका वस्तुहरु प्राय काठमाडौंबाटै जान्छ । तर, यसपाली केहि विद्युतीय सामग्रीको भने झिनो अभाव भएको असन छेउमै विद्युतीय सामग्री व्यापार गर्दै आएका विशाल श्रेष्ठ बताउँछन् । नेपालमा तिहारका लागि आवश्यक मानिने झिलिमिली बत्ती, झलहरलगायतका वस्तुहरु प्राय चीनबाट आयात हुने गरेका छन् । यसपल्ट चीनले केहि समय मात्रै पुर्ण रुपमा नाका खोल्दा उताबाट आउने लत्ताकपाडासँगै विद्युतीय सामग्री पनि सोचेजति आउन सकेनन् । जसका कारण नेपाली बजारमा यस्ता सामग्रीको झिनो अभाव देखिएको उनको भनाई छ । ‘ग्राहकहरु घर झिलिमिली पार्न अघिल्ला बर्षभन्दा फरक खालका र अली बढी सामग्रीहरु खोज्नुहुन्छ,’ उनले भने, ‘हामीले वहाँहरुले भनेजस्तो विद्युतीय सामग्रीहरु उपलब्ध गराउन सकेका छैनौं ।’

यतिमात्रै होईन बजारमा हाल नेपाली फूलका मालाहरुको व्यापार पनि उत्तिकै छ । यसपल्ट सरकारले भारतबाट सयपत्रीलगायतका फूलहरु ल्याउनमा प्रतिवन्ध लगाएको छ । नेपालमा आवश्यक पर्ने फूल तथा माला नेपालमै उत्पादन हुने भएपनि सरकारले यस्तो कदम चालेको छ । यसको प्रत्यक्ष असर नेपाली पुष्प व्यवसायीदेखि व्यापारीहरुसम्मलाई परेको छ । यसपल्ट भारतीय फूल नआउने भएपछि उत्पादन भएजति फूल नेपाली बजारमा खपत हुने अनुमान गरिएको गौशालामा फूल तथा माला विक्री गरिरहेका सुनिता शाही बताउँछन् । उनले विगत ५ बर्षदेखि उक्त क्षेत्रमा फूलमाला बेच्दै आएकी छन् ।

यस्तै तिहारमा ड्राइ फ्रुट, मिठाई, चक्लेटलगायतका व्यापार पनि उत्तिकै हुन्छ । नेपालमा कमै मात्रामा उत्पादन हुने ड्राई फ्रुट नेपालले प्राय विदेशबाट आयात गरेर माग धान्ने गरेको छ । चालु आर्थिक बर्षको साउन र भदौ महिनामा मात्रै नेपालले १ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २४ लाख २८ हजार किलो ड्राई फ्रुट आयात भएको छ । जसमध्ये सबैभन्दा बढी सुपारी आयात भएको छ । २ महिनामा नेपालले ४१ करोड रुपैयाँ बराबरको १८ लाख किलो सुपारी आयात गरेको छ । यस्तै यसपछि नेपालले सबैभन्दा बढी काजु आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL