Logo

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा, चुक्तापूँजीको शतप्रतिशत शेयर पूँजी थप गर्ने निर्णय

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा, चुक्तापूँजीको शतप्रतिशत शेयर पूँजी थप गर्ने निर्णय



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । जीबन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी थप गर्ने निर्णय भएको छ ।

त्यस्तै, शेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरुको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरुका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु एवं अन्य संघ संस्थाहरुको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुदै गएको बताए । साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरुलाई सुविधा उपलब्ध गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL