Logo

माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न, एक हप्ताभित्रै संचालनमा ल्याइ बिजुली उत्पादन गर्ने

माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न, एक हप्ताभित्रै संचालनमा ल्याइ बिजुली उत्पादन गर्ने



काठमाडौं । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

‘हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौं । अब एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ’, उनले भने । नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै जोडिने भएको छ । आयोजनाको पेनस्टक पाइपमा र टनेलमा पानी भर्ने, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएकामा मर्मतलगायत सबै काम सम्पन्न भएको प्रवद्र्धक बस्तीको भनाइ थियो।

‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७ सय मिटर लामो भूमिगत सुरुङ र २ हजार ७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको छ । उक्त आयोजना ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख रुपैयाँ पुग्ने आयोजनाले जनाएको छ । उक्त आयोजना विसं २०७१ देखि निर्माण गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको थिएन ।

सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आइएको थियो । यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनामा १२ दशमलव ५ प्रतिशतका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL