Logo

ऊर्जामन्त्री भुसाल र अष्ट्रेलियन राजदूतबीच भेट, विद्युतीय सवारी प्रयोग विस्तारमा सघाउने प्रतिवद्धता

ऊर्जामन्त्री भुसाल र अष्ट्रेलियन राजदूतबीच भेट, विद्युतीय सवारी प्रयोग विस्तारमा सघाउने प्रतिवद्धता



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सोहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिईन् । उनले विश्वले सामाना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको बताईन् ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाईन् । भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरिन् । राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताईन् । उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरीरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने बताएकी छन् ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको कमन वेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनबीच सन् २०१७ मा समझदारी भएको थियो । सो सम्झौताअनुसार र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL