Logo

डेढ अर्ब उठाएर भागे मदिरा आयातकर्ता ग्रीनलाईनका संचालक अभिषेक र अमित अग्रवाल : समस्यामा बैंक, सहकारी र मिटरब्याजी

डेढ अर्ब उठाएर भागे मदिरा आयातकर्ता ग्रीनलाईनका संचालक अभिषेक र अमित अग्रवाल : समस्यामा बैंक, सहकारी र मिटरब्याजी



काठमाडौं । मदिरा आयतकर्ता एवं विक्रेता अभिषेक अग्रवाल र अमित अग्रवाल बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग ठूलो रकम ऋण लिएर भागेका छन् । नेपालमा ३ दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएको अभिअमि, भिन्याट, ग्रीनलाईन सेन्टर प्रालिलगायतका संचालक अग्रवालद्वयले नेपाली बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर भागेका हुन् ।

laxmi

स्रोतका अनुसार उनीहरुले बैंक तथा वित्तीय संस्था, सहकारी र व्यक्तिसँग गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर भागेका हुन् । उनीहरु ऋण लिएर भागेसँगै इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरुको सम्पत्तिमा सूचना टाँस गरिसकेका छन् भने उनीहरुलाई ऋण दिएका अन्य बैंकहरुले पनि सूचना टाँस्ने प्रक्रिया अघि बढाएका छन् ।

विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजु भाई हुन । जनकपुर निवासी उनीहरुको परिवारलगायत अन्य आफन्तहरु भारतमा बसोबास गर्दै आएको समेत उक्त स्रोतले जानकारी दिएको छ । उनीहरुको मुख्य व्यवसाय भनेको मदिरा आयात तथा विदेशी मदिराहरु बिक्री नै थियो । उनीहरुले अभिअमि, ग्रीनलाईनलगात मदिरा स्टोर्समार्फतनै आफ्नो ठूलो व्यवसाय संचालन गर्दै आएका थिए । समाचार स्रोतका अनुसार उनीहरुलाई एभरेष्ट बैंकले २२ करोड रुपैयाँ कर्जा दिएको छ भने इन्भेष्टमेन्ट बैंकले २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तर, यस विषयमा विस्तृतमा बुझ्न खोज्दा दुबै बैंकले जानकारी दिन चाहेनन् । यसैगरी मेगा बैंकले पनि ठूलो मात्रामा कर्जा लगानी गरेको बुझिएको छ ।

अग्रवालले आफुहरुबाट कर्जा लिएको र हाल अग्रवालको नाममा रहेको सम्पत्ति आफ्नो हक रहेको भन्दै सूचना टाँस गरेका एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले ग्रीनलाईन सेन्टरलगातय मदिरा आउटलेटमा चाबी लगाएर सेक्युरिटी गार्डसमेत राखेका छन् । उनीहरुले गत बुधबारदेखि चाबी लगाएर सूचना टाँस गर्दै उक्त स्टोर सुरक्षाका लागि सेक्युरिटी गार्ड समेत राखेका हुन् । उक्त सेक्युरिटी गार्डका अनुसार पछिल्लो समय नेपाल बंगलादेश बैंक र नेपाल बैंक समेत अग्रवालद्वयले उक्त बैंकबाट ठूलो मात्रामा कर्जा लिएको भन्दै बुझ्न आएका छन् ।

बैंकहरुले अग्रवालाई धितोको आधारमा भन्दा पनि व्यवसायको आधारमा कर्जा लगानी गरेका कारण उनीहरु भाग्दा बैंकहरु नै समस्या पर्ने देखिएको छ । अग्रवालले बैंकबाट व्यवसायको आधारमा कर्जा लिएको कारण उनीहरुले कर्जा लिदाँ कर्जाको तुलनामा ज्यादै न्यून आकारमा धितो राखेका छन् । यदि बैंकहरुले अग्रवालबाट कर्जा असुली गर्न नसकेको खण्डमा उनीहरुमाथि कर्जा लगानी गर्ने बैंकहरु नै समस्यामा पर्ने सम्भावना उच्च रहको समाचार स्रोतले जानकारी दिएको छ । समाचार स्रोतका अनुसार उल्लेखित बैंकहरुले अग्रवालद्वयको नाममा करिव १ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

अग्रवाल भागेसँगै उनीहरुलाई ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले उक्त कर्जा उठौतीको लागि दौडधुप गर्न थालेका छन् । विशेषगरी एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले अग्रवालको सम्पत्तिमा सूचना टाँस गर्दै हिडेका छन् । दुबै बैंकले कान्तिपथमा रहेको ग्रीनलाईनगायतका स्थानमा संयुक्त रुपमा समेत सूचना टाँस गरेका छन् । उनीहरुले अग्रवालको ज्ञानेश्वरस्थित करिव १७ आना जग्गामा बनेको घर, अपार्टमेन्ट लगायतका स्थानमा सकेत सूचना टाँस गरेका छन् ।

यसरी उठाएका थिए अग्रवालले पैसा

अग्रवालले बैंकसँग धितोभन्दा बढी व्यवसायको आधारमा बढी कर्जा लिएको बुझिएको छ । कतिपय बैंकले कर्जाको एक तिहाई पनि धितोसमेत नराखेको उक्त समाचार स्रोतले जानकारी दिएको छ । यदि उनीहरुले अबका दिनमा अग्रवाललाई पक्राउ गरी कर्जा उसुली गर्न नसकेको खण्डमा बैंकको लगानीसमेत फस्ने सम्भावना उच्च रहेको छ । विषेगरी बैंकहरुले अग्रवाललाई प्लेज लोन दिएकाले पनि कर्जा उठौतीमा समस्या उत्पन्न हुने देखिएको समेत उक्त स्रोतको दावी रहेको छ ।

यसैगरी उनीहरुले सहकारीबाट समेत कमसल धितो तथा व्यवसायको आधारमा कर्जा लिएको समाचार स्रोतले जानकारी दिएको छ । साथै उनीहरुले पछिल्लो समय गलत मनशायले बैंकमा धितोमा रहेको जग्गा तथा फ्ल्याट समेत बैंकबाट फुकुवा गरेर बिक्री गर्छु भन्दै एउटै जग्गाका लागि धेरैजनासँग बैनावापत ठूलो रकम असुली गरेको बुझिएको छ । हाल त्यस्ता व्यक्तिहरु समेत बैंकले सूचना टास गरेसँगै दैनिक रुपमा बुझ्न आउन थालेका छन् । साथै उनीहरुले मिटर व्याजमा समेत करोडौ रुपैयाँ उठाए भागेको सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ । सहकारी, जग्गाको बैना र मिटरब्याजीमा मात्रै करिव १ अर्ब रुपैयाँको हाराहारीमा ऋण लिएको हुनसक्ने उक्त स्रोतको दावी छ । अग्रवालले गलत मनसायबाटै बैंक, सहकारी र व्यक्तिमार्फत ठूलो रकम ऋण लिएको र त्यसरी कर्जा लिएको रकम देशबाहिर लगेको हुनसक्ने सम्बद्ध स्रोतको दावी रहेको छ ।

मदिरा व्यवसायी र आयातकर्ताको ठूलो रकम डुब्दै

नेपालमा विदेशी तथा नेपाली चलेका मदिरा बिक्री गर्नेमा ग्रीनलाईन लगायतका अग्रवालका अन्य मदिरा स्टोर्स अग्रस्थानमा पर्दछ । विशेषगरी जोनी वाकरका उत्पादनहरु बढी मात्रामा ग्रीनलाईनले नै बिक्री गर्दै आएको थियो । उनीहरुले काठमाडौं र पोखरामा गरी मदिरा बिक्रीका लागि विभिन्न नाममा करिव आधादर्जन आउटलेट खोलेका थिए । ती सबै आउटलेटको नाममा बैंकमार्फत ठूलो कर्जा लिएका थिए भने मदिरा व्यवसायी र आयातकर्ताको पनि ठूलो रकम फस्न पुगेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

विशेषगरी जोनीवाकरमा उत्पादन आयात गर्ने विशाल ग्रूप, चिभास रिगल आयात गर्ने शारदा ग्रूपको बैंक ज्ञारेन्टी र थप उधारो गरी २/२ करोड रुपैयाँभन्दा बढी फसेको उक्त स्रोतले जानकारी दिएको छ । यस्तै जेडीका आयातकर्ता रञ्जित अग्रवाल र एब्सुलेट भोड्काका आयतकर्ताको समेत ठूलो रकम उधारो फसेको छ । यसैगरी नेपाली मदिरा उत्पादक वल्डदरबार, खुकरी रम र बियर उत्पादकहरुको समेत ठूलो मात्रामा उधारो रकम फस्न पुगेको समाचार स्रोतले जानकारी दिएको छ ।

अग्रवालको सागर डिस्ट्रीलरीसमेत बिक्री

बैंक तथा वित्तीय संस्था र व्यक्तिको ठूलो मात्रामा कर्जा लिएर भागेका अग्रवालद्वयले आफ्नो डिस्ट्रीलरीसमेत बिक्री गरेका छन् । उनीहरुले केही समयअघि मात्रै सागर डिष्ट्रीलरी ब्रोकर नम्बर ५८ का संचालकलाई बिक्री गरेका थिए । उनीहरु कतिपय आफ्नो सम्पतीसमेत बिक्री गरेर भागेको समेत समाचार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL