Logo

राइड सेयरिङ एप सहाराद्वारा यात्रु र चालकको बीमा, कमिसन नलिने

राइड सेयरिङ एप सहाराद्वारा यात्रु र चालकको बीमा, कमिसन नलिने



काठमाडौँ । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बीमा गर्न अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

laxmi

सम्झौतामा हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।
सम्झौता अनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुने कम्पनीले जनाएको छ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उदेश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिसन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्धेश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गूगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गूगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।

एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड सेयरिङ बजारमा स्थापित गराउन सफल भैसकेको छ । एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । १ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरु आबद्ध छन् । सहाराले पार्टनर तथा यात्रुहरुलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय समयमा विभिन्न किसिमका अफरहरु समेत सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL